१६ श्रावण २०७८, शनिबार

चरनक्षेत्रको अभावले लिमीमा घट्यो पशुपालन व्यवसाय



कर्णबहादुर रोकाया

९ फागुन, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६को लिमी क्षेत्रमा चरन क्षेत्रको समस्याले जीविकोपार्जनको मुख्य पेशा पशुपालन व्यवसाय सङ्कटमा परेको छ । जसका कारण लिम्यालहरू बैकल्पिक कामहरू खोज्न बाध्य भएका छन् ।

वि.सं. २०१८ सालमा भएको सीमा निर्धारण अनुसार प्रत्येक पाँच–पाँच वर्षमा उत्तरी अन्तर पशुचरनका लागि भएका सम्झौताको पुनरावलोकन हुने गरेको थियो । तर नेपाली पक्षले स्थलगत रुपमा आफ्ना स्थानीय नागरिकहरूसँग सम्पर्क नै नगरी सैद्धान्तिक रुपमा नै दुई देशीय सम्झौता गर्दा नेपाली हिमाली गाउँका बस्तीहरू मर्कामा पर्दै गएका छन् । नेपाल सरकारको माथिल्लो जिम्मेवार तहले नीतिगत कुरालाई मात्र मान्यता दिएर स्थानीय सीमा क्षेत्रमा बस्ने नागरिकको व्यावहारिक पाटाहरूलाई सम्बोधन गर्न गराउनका लागि कुनै चासो नदिएका कारण चरन र सीमाको साँधबारेमा पनि पटक–पटक सानातिना किचलो आउने गरेको छ ।

यसरी हुम्लाको उत्तरी चीनको स्वशासित तिब्बतको पुराङका विभिन्न गाउँका पशुवस्तुहरू वर्षा समयमा नेपाली भूमिमा निर्वाध रुपमा चरिचरन गर्न पाउने तर हिउँदको समयमा नेपाली पशुवस्तुहरूको चरिचरनलाई थुनछेक गरिदाँ यस्तो समस्या आएको साविक लिमी गाविसका तत्कालिन सचिव धर्मराज रोकायाले बताए ।

नेपाल सरकारले सीमाका स्थानीय नागरिकहरूको समयमै भनाई सम्बोधन गर्नुपर्छ । नत्र यो समस्या सधैँभरीका लागि आउने सानोतिनो विवादले यो वर्षको असोज कात्तिक महिनामा राष्ट्रिय अन्र्तराष्ट्रिय चर्चा परिचर्चा पाए जस्तै सधैँभरीका लागि प्रतिपक्षको मसला बन्ने गरेको छ ।

पशुपालन व्यवसाय लिमी क्षेत्रको एकमात्र जीविकोपार्जन र आयको स्रोत भए पनि नेपाल सरकारको नीतिगत, रणनैतिक तथा सामरिक कमजोरीका कारण यो पेशा संकटमा परेको लिमी हल्जीका स्थानीयबासी खेन्राव तामाङ्गले बताए ।

उत्तरी अन्तर पशुचरनका बारेमा नीतिगत रुपमा विभिन्न प्रकारका सन्धी सम्झौता समझदारी र अन्य लिखत भए पनि हालसम्म स्थानीय नागरिकबिच परम्परागत व्यावहारिक सन्दर्भमा नै सीमाको आवतजावत चल्दै आएको छ । यसलाई जिम्मेवार निकायका जिम्मेवार अधिकारीहरूले साँध सीमानाका बारेमा स्थानीय नागरिकलाई जानकारी गर्नु गराउनु पर्ने अवस्था रहेको छ ।

वि.सं. २०१८ सालमा भएको उत्तरी सीमाको रेखाङ्कनमा सीमा निर्धारण गर्दा लिमी क्षेत्रको उर्बर, पोषिलो र राम्रो चरन क्षेत्र तिब्बती भूभागमा परेको छ । वर्षेनी लिमी क्षेत्रको पशुवस्तुहरू घटाउँदै जानुपर्ने र भएका पशुवस्तुहरू चरिचरन गरेवापत चरन कर पनि तिर्नुपर्ने अवस्थाले लिमीमा केही वर्षपछि त घरेलु कामका लागि प्रयोग हुने पशुवस्तुहरू पनि पाउन मुस्किल हुने नाम्खा वडा नम्बर ६ का वडा अध्यक्ष पाल्जोर तामाङ्गको मत रहेको छ ।

हुम्ला जिल्लाको उत्तरी अन्तर पशुचरन समस्याले लिमीका नागरिकलाई कि त गाउँठाउँ छोड्नु पर्ने कि त प्रति वर्ष अन्य काममा पसिना चुहाएर जीविकोपार्जन गर्नु पर्ने वाध्यात्मक अवस्था रहेको छ । यसलाई ध्यान दिएर जीविकोपार्जनको वैकल्पिक र स्थायी सम्बोधन समयमै गर्नुपर्ने आजको आवश्यकता हो कि नेपालीको नाममा नागरिकको प्रमाणपत्र भिराउने काम मात्र ?


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु