१९ फाल्गुन २०७७, बुधबार

ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई २० लाख सहयोग



७ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको प्रशंसा गर्दै सो रङ्गशालाले नेपाललाई अन्तरराष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे । फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले भने, ‘आउँदो १४ महिनामा रङ्गशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्न गर्ने विश्वास लिएका छौँ । यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयमै काम सम्पन्न हुनेछ ।’

सो रङ्गशालामा २२ विधाका खेल खेल्न सकिन्छ । रङ्गशालामा ७७ जिल्लाका नाममा फरकफरक कक्ष निर्माण हुनेछ जसमा ललितपुर नामक कक्ष पनि निर्माण गरिने छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरपालिकाले रङ्गशालालाई रकम सहयोग गरी गर्न बाँकी रहेका काममा सानो मद्दत पु¥याएको बताए ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु