एमिकस क्युरीका बहुमत अधिवक्ताले भने, ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन’
७ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा अदालतलाई सहयोग गर्न गठित (एमिकस क्युरी)ले राय दिने क्रम आज सकिएको छ ।
इजलासले हेर्दाहर्दैमा यही फागुन ११ गतेका लागि पेशी तोकेको छ भने सो दिन निर्णय सुनाउने भन्ने उल्लेख गरेको छैन । अदालतले सोही दिन निर्णय सुनाउने मिति तय गर्ने छ वा फैसला सुनाउने छ ।
वरिष्ठ अधिवक्ता गीता पाठकले आज आफ्नो राय प्रस्तुत गर्दै प्रतिनिधिसभा विघटन गर्ने संविधानमा व्यवस्था नभएको धारणा राखिन् । नेपालको संविधानमा स्पष्ट व्यवस्था नभएको हुनाले विघटनको अधिकार नदिएको उनको राय थियोे ।
एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र विजयकान्त मैनालीले नेपालको संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको राय प्रस्तुत गरेका छन् भने वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठकले नेपालको संविधानले विघटन गर्ने अधिकार नदिएको राय दिएका छन् ।
यसरी हेर्दा एमिकस क्युरीका बहुमत अधिबक्ताहरूले प्रतिनिधिसभा विघटन गर्ने संविधानले प्रत्यायोजन नगरेको राय पेश गरेका छन् ।