६ आश्विन २०८०, शनिबार

हुम्लाका पाँच गाउँपालिकाले गरेनन् हिउँदे अधिवेशन



कर्णबहादुर रोकाया

७ फागुन, हुम्ला । हुम्लाका पाँच स्थानीय तहले फागुन लाग्दासम्म पनि हिउँदे अधिवेशन गर्न सकेका छैनन् । यो अधिवेशनमा आर्थिक वर्ष २०७७/७८ को ६ महिनाको योजना, कार्यक्रम र तत्सम्बन्धी गतिविधिहरूको समीक्षा र परिमार्जन गर्ने गराउने समय हो ।

हुम्लाको अदानचुली, सर्केगाड, खार्पुनाथ, नाम्खा र सिमकोट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र जिम्मेवार कर्मचारीहरू विभिन्न कामको बहानामा गाउँपालिका नै खाली राखेर शहर पस्दा यस्तो समस्या देखिएको हो ।

उक्त गाउँपालिकाका अध्यक्षहरु तथा प्रमुख प्रशासकीय अधिकृतहरूलाई टेलिफोनमार्फत् सम्पर्क गर्दा चैत्रपछि गर्नुपर्ने कामका लागि टेण्डर खोल्ने लगायतका प्राविधिक र आर्थिक व्यवस्थापनका लागि शहरतिर गएको जानकारी प्राप्त भएको छ । उनीहरूले अब छिट्टै फर्किएर गाउँपालिकाको हिउँदे अधिवेशन शुरु गर्ने बताएका छन् ।

धेरै जसो गाउँपालिकाका अध्यक्षहरूले कोरोना महामारीका कारण ढिलो भएको जनाएका छन् । अबको हिउँदे अधिवेशनमा गाउँपालिकामा भए गरेका कामहरूको लेखाजोखा गरेर १० प्रतिशत बजेट रकम अन्य अत्यावश्यक कामका लागि रकमान्तर गर्न सकिने प्रावधान रहेको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले बताएका छन् ।

यसअघि हुम्लाको चंखेली गाउँपालिकाले पुस ५ गते र ताजाकोटले माघ १० गते आफ्नो हिउँदे अधिवेशन सम्पन्न गरिसेका छन् । अरु पाँच गाउँपालिकाले हिउँदे अधिवेशन कहिले गर्ने हुन् हालसम्म कुनै टुङ्गो लागेको छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको