२० जेष्ठ २०८०, शनिबार

सूचना अधिकारीबिहीन हुम्लाका सरकारी कार्यालयहरू



कर्णबहादुर रोकाया

६ फागुन, हुम्ला। सरकारले नागरिकलाई छिटो छरितो, पारदर्शी र जवाफहदहिता बढाउन र सरलता दिनका लागि नीतिगत रुपमै कार्यालयहरूमा अनिवार्य सूचना अधिकारीको व्यवस्था गरेको छ । तर हुम्लाका सरकारी निकायहरूमा कार्यालय प्रमुखपछिको दोस्रो तहका कर्मचारी नहुँदा सूचना अधिकारी तोक्न समस्या भएको छ ।

प्रत्येक महिनाको पाँच गते कार्यालय प्रमुुखहरूको बैठक बसी आफ्ना कार्यालयका गतिविधिहरूको समीक्षा र भावी महिनाको लागि आवश्यक सरसहल्लाह लिन–दिन प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बैठक बस्ने गर्छ । हुम्ला जिल्लाका कार्यालय प्रमुखहरूको बैठक पनि फागुन ५ गते बसेको हो । यो बैठकमा एउटै प्रमुख समस्या भनेको हुम्लाका अधिकाँस संघीय कार्यालयहरूमा सुचना अधिकारी तोक्न भएको प्राविधिक समस्या उठ्यो । हाकिमभन्दा दोस्रो दर्जाका अधिकारी नहुँदा सूचना अधिकारी तोक्न कार्यालय सञ्चालन गर्न र आपतिकालीन कामका लागि जिम्मेवारी दिन समस्या भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।

जिल्लाका सबै कार्यालयहरूलाई नियमन गर्ने जिल्ला प्रशासन कार्यालय आफै कर्मचारी अभावमा कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । यस्तै विभिन्न कार्यालयहरूमा हाकीम र कार्यालय सहयोगी मात्र हुँदा कार्यालय खोल्ने र बन्द गर्ने काम बाहेक अन्य नीतिगत निर्णय लिन दिन समस्या देखिएको छ ।

धेरै कार्यालयहरूमा एकातिर भएका कर्मचारीहरू हिउँदको समयमा विभिन्न निहुँ बनाएर शहर झर्ने समस्या देखिएको छ भने अर्कातिर दुर्गम जिल्लामा लोकसेवा लगायत अन्य कामलाई गाह्रो हुने भएकाले पनि कर्मचारी हुम्ला आउन नमान्ने गरेका छन् । यसैले पनि कर्मचारी अभाव हुँदा यहाँका सरकारी कार्यालयहरू सूचना अधिकारी विहीन बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको