२० जेष्ठ २०८०, शनिबार

राष्ट्रिय फुल लालीगुराँस दाउरा र ठेकीको रुपमा प्रयोग



कर्णबहादुर रोकाया

५ फागुन, हुम्ला । राष्ट्रिय फुल लालीगुराँसको काठ हुम्लामा दाउरा, झिक्रा र ठेकी लगायतका काष्ठकलाका लागि प्रयोग गरिन्छ । न त यसको संरक्षणका लागि कुनै काम गरिएको छ । न त सचेतनाका लागि कुनै कार्यक्रम सञ्चालन गरिएको छ ।

वि.सं. २०१९ सालमा राष्ट्रिय फुलको रुपमा नामाकरण गरिएको हिमाले यो सुन्दर फुल हो । योसँगै नेपालमा दर्जनौं प्रकारका फुलहरू माघ महिनादेखि साउन महिनासम्म फुल्ने गरेका छन् । यसैले पनि सेतो हिमालको क्यानभास, हरियो पहाडको च्यादरलाई, सुशोभायमान लालियायुक्त रङ पोत्ने वनस्पति लालीगुराँस हो । यसैले पनि यसले वनास्पतिक उपयोगभन्दा पनि राष्ट्रिय महत्व बोेकेको छ । तर पनि सरकारी पक्षले न त यसको संरक्षणका लागि कुनै कार्यक्रम ल्याएको छ, न यसको महत्वका बारेमा जानकारी आदानप्रदान गर्ने गराउने गरेको छ ।

हुम्लाबासीले लालिगुराँसलाई राष्ट्रिय फुलभन्दा पनि यसलाई एक अचुक औषधीय गुण बोकेको वनस्पतिका रुपमा बुझ्ने र प्रयोग गर्ने गरेका छन् । आँखा, घाँटी, शित, पेट, औलो, खकार, अजीर्ण तथा अन्य रोगहरूका लागि एकल तथा मिश्रित रुपमा यसको प्रयोग गर्ने गरेको खगालगाउँ हुम्लाका रिन्जिन लामाले बताएका छन् ।

सैद्धान्तिक मान्यता अनुसार कानुनी अज्ञानता क्षमा योग्य हुँदैन भन्ने गरिए पनि नेपालको ग्रामीणबस्तीहरुमा प्रथाजन्य संस्कारले नै स्थानीय समाजको व्यवस्थापन गर्ने गरेको पाइन्छ । राष्ट्रिय फुल लालीगुराँस नाँसमाँस गर्ने हुम्लाको चलनलाई कानुनी सारक्षरता अभावको एक उदाहरण मान्न सकिन्छ । यसैले हाम्रा राम्रा र कानुनले बन्देज गरेका कुराहरू दैनिक रुपमा प्रयोग हुँदै आएका छन् ।

यसैगरी हुम्लाको तल्लो भेगमा लालीगुराँसलाई माँछा मार्ने र माँछाको मासुको परिकार बनाउनमा प्रयोग गरिन्छ । यसका अलवा ठेकी, जुम, सयो, टोल्जुम जस्ता काष्ठभाँडाहरू बनाउनाका लागि पनि यसको काठ प्रयोग गरिन्छ । यसबाट बनाएका काठमा भाँडाहरुमा गोरस राख्न अति राम्रो, मिठो, चिस्यान रहने भएकाले वर्षेनी लालीगुराँसको नाँसमाँस हुने गरेको श्रीनगर गाउँका डबले महताराले जानकारी दिए ।

जिम्मेवार निकायले स्थानीयमुखी कार्यक्रम तय नगर्नु, समाज र संस्कृति अनुसार विकास र निकासका काम नगरेर माथिबाट लादिएको कार्यक्रम सञ्चालनमा आउनु, राष्ट्रसेवक नभएर कर्मचारीको रुपमा जागिर राख्नु, कोठे कार्यालमा तय गरेका कामहरू प्रक्रियातग रुपमा लागु गर्नु जस्ता विभिन्न कारणले पनि हाम्रा धेरै राम्रा कुराहरू नाँसमाँस हुँदै गएका छन् । यसैको एक नमुना हुम्लामा राष्ट्रिय फुल लालीगुराँस दाउरा र ठेकीको रुपमा प्रयोग गर्ने चलन पनि हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको