२० जेष्ठ २०८०, शनिबार

घटनाको १४ औँ दिनमा भागरथी हत्यारा सार्वजनिक : ‘भीरबाट लडाएर घाइते अवस्थामा बलात्कार गरेको बयान’



५ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ । भागरथीको छिमेकीसमेत रहेका उनलाई घटनाको १४ औँ दिन बुधबार प्रहरीले सार्वजनिक गरेको हो ।

आरोपी युवकले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको प्रहरीलाई बयान दिएका छन् । यसअघि नै गरिएको पोष्मार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको थियो ।

आरोपी युवक भागरथीका छिमेकी तथा सँगै पढ्ने साथी हुन् । गत माघ २१ गते भागरथी विद्यालयबाट फर्किँदा बाटोमा ढुकेर बसेको र बलात्कार गरी हत्या गरेको उनले स्विकारेको सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले बताएका छन् ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो ।

यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले मृतक भागरथीका बुवासँग बदला लिन यो घटना गराएको बताएका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन् ।’

अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएपनि ति युवकलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरेर अपराध स्विाकारेपछि सार्वजनिक गरिएको स्रोतले जनाएको छ  ।

बडो अनौठो विषय के छ भने भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी समेत सहभागी हुँदै आएका थिए । प्रहरी देख्ने बित्तिकै डराएजस्तो देखिने तिं युवकलाई कडा निगरानीमा राखेर प्रहरीले आफ्नो अनुसन्धान अघि बढाइरहेको थियो ।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट समेत डिएसपीको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

निर्मला पन्त प्रकरणमा असफलताले गर्दा प्रहरी दबाबमा थियो । अहिले पनि १३ दिनसम्म दोषी पक्राउ नपर्दा प्रहरीको क्षमतामाथि प्रश्न उठिरहेकै थिए । प्रहरीले भने शंकास्पदलाई पक्राउ गरेर सोध्नेभन्दा पनि प्रमाण संकलन गरेर अभियुक्तलाई घेर्ने नीति लिएको र त्यसमा सफल भएको दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको