स्वामी रामानन्द गिरिद्वारा लिखित ‘अध्यात्मरामायणः रामानन्दी टीका’को लोकार्पण
४ फागुन, काठमाडौं । संस्कृत भाषाको अध्ययन अध्यापन गर्दै आएको तनहुँको देवघाटस्थित महेश संस्कृत गुरुकुलम तथा आश्रमले ‘अध्यात्मरामायणः रामानन्दी टीका’को लोकार्पण गरेको छ ।
मंगलबार महेश संस्कृत गुरुकुलमा संस्थापित विद्येश्वर महादेवको मन्दिरको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिले पुस्तकको लोकार्पण गरेका हुन् ।
उक्त अध्यात्मरामायण डा. स्वामी रामानन्द गिरिले नेपाली व्याख्यासहित लेखेका हुन् ।
गुरुकुलको छब्बीसौँ ग्रन्थमालाको रूपमा अध्यात्मरामायणको लोकार्पण भएको आश्रमले जनाएको छ । पुस्तक लोकार्पण गर्दै पीठाधीश गिरिले मानवजीवनमा राम शब्दको आदि मध्य र अन्त्य सबै अवस्थामा विशेष महत्त्व रहेको उल्लेख गर्दै अध्यात्मरामायणको पदार्थ, भावार्थ र विवरणसहित यति विस्तृत व्याख्या भएको ग्रन्थ अन्य कुनै पनि भाषामा आजसम्म प्रकाशित नभएको उल्लेख गरे ।
कार्यक्रममा संस्कृतभाषाबाट आफ्नो सम्बोधन गर्दै गुरुकुलका प्राचार्य डा. गुरुप्रसाद सुवेदीले विद्यातत्त्वको बारेमा प्रकाश पारेका थिए ।
शिव र सरस्वतीमा दाजुबहिनीको सम्बन्ध रहेको उल्लेख गर्दै सम्पूर्ण विद्याका प्रदाता भगवान विद्येश्वर भएको समेत सुवेदीले उल्लेख गरे ।
कार्यक्रमका वक्ताहरूले डा. स्वामी रामानन्द गिरिको जीवन विद्याकै क्षेत्रमा समर्पित भएकाले उनलाई विद्येश्वर भगवानको स्थापना गर्न प्रेरणा मिलेको कुरा उल्लेख गरेका थिए ।
गुरुकुलका छात्र, गुरुकुलका सञ्चालक, व्यवस्थापक, दाता, शुभचिन्तकलगायत विभिन्न व्यक्तित्वहरूको भव्य उपस्थिति रहेको लोकार्पण कार्यक्रममा सरस्वतीपूजन एवन् उपासनाका विभिन्न गतिविधि समेत सम्पन्न गरिएका थिए ।