१४ फाल्गुन २०७७, शुक्रबार

विनयजङ्ग पक्राउ परेपछि सपनाले लेखिन् : ‘अराजकहरू कानुनको घेराबाट उम्किन सक्दैनन्’



४ फागुन, काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले अराजक व्यक्तिहरू क्षणभरलाई विजयी भएपनि अन्तत सत्य बाहिर आएरै छाड्ने बताएकी छन् । सपनालाई धम्क्याउने विनयजङ्ग बस्नेत मंगलबार साँझ पक्राउ परेपछि उनले कानुन भन्दा माथि कोही पनि नभएको बताउदै सत्यतथ्य कानुनी प्रक्रिया अनुसार बाहिर आउने बताएकी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

विनयजङ्ग बस्नेतले उनलाई धम्क्याएपछि सामाजिक सञ्जालबाट टाढिएकी सपनाले बस्नेत पक्राउ पर्ने वित्तिकै फेसबुकमा स्टाटस लेखिन् । ‘धेरैको जिज्ञासा थियो म किन बोलिरहेकी छैन भनेर। कानुनभन्दा माथि हामी कोही थिएनौं । सम्पूर्ण प्रहरी प्रशासनको अथक प्रयासपछि फेरि फरार हुने क्रममा काठमाडौंको नयाँ बसपार्कबाट विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको छ । अब सत्यतथ्य कानुनी प्रक्रिया अनुसार बाहिर आउँछ ।’

उनले विनयजङ्ग बस्नेत अराजक चरित्रको पात्र भएको बुझाउने गरी लेखेकी छिन्, ‘सबैजना अवगत नै छन्, अराजकहरू क्षणिकका लागि विजय हुन्छन् र सत्य ढिला भए पनि सही रुपमा बाहिर पक्कै आउँछ ।’

उनले आफूले धेरै नै इज्जत दिएर बुबा मानेका व्यक्तिबाटै चरित्र हत्या गरिँदा एकदमै मन दुखेको बताएकी छिन् ।

सपनाले अहिले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आफ्नै नामको ‘सपनाको चाहनाः समृद्ध नेपाल’ संस्था पनि दर्ता गराइसकेकी छिन् । माघ १९ गते नै दर्ता भएको उक्त संस्थामार्फत् बेवारिसे शव तथा बेसाहाराका लागि आफ्नो कामलाई निरन्तरता दिन लागेको उनले बताएकी छिन् । यो संस्था दर्ता गराएको भोलिपल्ट नै उनले नेपालगन्जमा एक बेवारिसेको शव जलाएकी थिइन् ।

म्याग्दीबाट काठमाडौं आएपछि विनयजङ्ग बस्नेतलाई आफ्ना बुबा मान्ने सपना उनीसँगै मिलेर बेवारिसे शव जलाउने गर्थिन्, उनीसँगै बस्दै आएकी थिइन् । यहिबिचमा उनीहरूबीच तिक्तता आएपछि गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन् ।

सपनासँग सम्बन्ध बिग्रिएपछि बस्नेतले युट्युब च्यानलमार्फत् धम्किदिँदै आफ्नो सपनाका नग्न तस्बिरहरू रहेको बताएका थिए । उनले ती सामग्री सार्वजनिक गरिदिने भन्दै सपनालाई धम्क्याएका थिए ।

त्यसपछि बस्नेतविरूद्ध सपनाले दिएको जाहेरी आइतबार काठमाडौं परिसरमा दर्ता भएको थियो । बस्नेतमाथि अभद्र व्यवहारको मुद्धा दर्ता भएपछि नयाँबसपार्कबाट फरार हुँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरिसकेको छ ।

उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सपनाको फेसबुक स्टाटस :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु