१६ श्रावण २०७८, शनिबार

कर्णाली प्रदेशको वार्षिकोत्सव, यस्ता छन् तिन वर्षे उपलब्धिहरू !



३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आज एक कार्यक्रमकाबिच तेस्रो वार्षिकोत्सव मनाएको छ ।

तेस्रो वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रदेश सरकारले तीन वर्षको अवधिमा भए–गरेका उपलब्धिबारे संक्षिप्त विवरण समेत सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले उपलब्ध गराएको विवरण अनुसार यो तीन वर्षको अवधिमा सडक पूर्वाधारतर्फ ८८७.८७ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ ।

१६७ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यसैगरी पाँचवटा सडक पुल र १२ वटा झोलुंगे पुल निर्माण भएका छन् ।

यस्तै जनता आवास कार्यक्रममार्फत् बाढी, आगलागी लगायतका विभिन्न प्राकृतिक विपत्तिबाट पीडित भएकाहरूका लागि १ हजार ३३५ वटा आवास निर्माण गरिएको छ ।

कर्णाली प्रदेशभरका ४२ हजार ४५४ जनसंख्या लाभान्वित हुनेगरी खानेपानीको आधारभूत सुविधा र्पुयाइएको छ । ४ हजार २०० हेक्टर जमिनमा बाह्रै महिना पुग्नेगगरी सिँचाइ सुविधा उपलब्ध गराइएको छ ।

कर्णालीबासीको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न र स्तर कायम गर्नका लागि कर्णाली प्रदेश अस्पताललाई ३०० शैया र जिल्ला अस्पतालहरूलाई ५० शैयामा विकास गर्नेगरी पूर्वाधार विकास र जनशक्ति व्यवस्थापन गरिएका छ ।

‘बैंक खाता छोरीको–सुरक्षा जीवनभरिको’ कार्यक्रमअन्तर्गत २०७६ साउन १ गते यता जन्मिएका कर्णाली प्रदेशका ६ हजार ५०० छोरीहरूको बैंक खाता यो तीन वर्षको अवधिमा खोलिएको छ । प्रदेश सरकारले नवजात छोरीहरूको स्थानीय तहमा रहेका बैंकहरूमा खाता खोल्ने व्यवस्था मिलाएको छ । २० वर्ष पुगेपछि उनीहरूले ब्याजसहित रकम निकाल्न पाउँनेगरी उक्त खातामा सरकारले मासिक ५०० रुपैयाँ रकम जम्मा गर्छ ।

यस्तै, छोरीबुहारी, दलित जेहेनदार, द्वन्द्वपीडित तथा सहिद परिवारकय छोराछोरीलाई उच्च प्राविधिक शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम पनि कर्णाली प्रदेश सरकारको लागु गरेको छ ।

कृषितर्फ १० वटै जिल्लामा एक–एक स्थानीय तहमा सहकारी नमूना गाउँ स्थापना, ४४८.१५ किलोमिटर नयाँ कृषि सडक निर्माण, ५१.३७ किलोमिटर कृषि सडक मर्मत गरिएको छ ।

प्रदेश सरकारका अनुसार कर्णालीका विभिन्न जिल्लाबाट वार्षिक १२ करोड रुपैयाँ बराबरको दूध निर्यात पनि गर्न थालिएको छ ।

कृषि कर्जामा ब्याज अनुदान दिने व्यवस्था गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत हालसम्म ३२ जना कृषकले कुल ५ करोड ५० लाख रुपैयाँ कर्जा पाएका छन् ।

२०७४ फागुन ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको नेतृत्वमा गठन भएको कर्णाली प्रदेश सरकारको कार्यकाल सोमबार ३ वर्ष पुगेको छ । उद्योगधन्दा, कलकारखानहरू निकै कम र प्राकृतिक स्रोत साधनको अथाह सम्भावना बाकेको कर्णालीलाई ५ वर्षपछि कस्तो प्रदेश बनाउने भन्ने नेताहरूको इच्छाशक्ति र राजनीतिक स्थायित्वले निर्धारण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु