प्रचण्ड र ओलीको कुर्सीको झगडाले नेपाली काङ्ग्रेसमा पनि समस्या आयो : देउवा
३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुर्सीको झगडाले आफ्नो पार्टीमै पनि समस्या देखिएको बताएका छन् । ओली र प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको भन्दै देउवाले दुबैजनाको पक्षपोषण गर्नुको अर्थ नरहेको बताएका हुन् ।
संसद विघटन गरेपछि प्रधानमन्त्री ओली र प्रचण्ड अहिले नेकपाभित्र दुई समूहमा विभाजित भएका छन् ।
भैरहवामा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘प्रचण्डले प्रजातन्त्र मान्छु भने । गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई भारतबाट ल्याएर नेपालमा ल ठीक छ भनेर संविधान सभाको चुनाव गराइयो । तर यिनीहरू प्रचण्ड र ओली राजाभन्दा पनि ठूला राजा हुन थाले ।’ सभापति देउवाले उनीहरूको कुर्सीको झगडामा आफ्नो पार्टीको कुनै हात रहेको स्पष्ट पारे ।
कांग्रेसकै नेताहरू कोही ओली र कोही प्रचण्ड ठिक भनिरहेको देउवाको भनाइ थियो । उनीहरूको झगडाको साक्षि नबन्न उनले सम्पूर्ण नेता कार्यकर्ताहरूले आग्रह समेत गरे ।
देउवाले निर्वाचन आयोगले आजसम्म निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको प्रति आपत्ति जनाएका छन् । उनले अदालतको फैसला कुरेर निर्वाचन आयोगले आफ्नो काम अल्झाएर राख्न नमिल्ने बताए ।