१९ फाल्गुन २०७७, बुधबार

पञ्चकर्म उपचारबाट एक हजार दुई सय लाभान्वित



कर्णबहादुर रोकाया

३ फागुन, हुम्ला । पछिल्लो समय आयुर्वेद शाखा हुम्लामा सेवा सुविधा विस्तार हुँदा स्थानीयबासीहरू आकर्षित र लाभान्वित भएका छन् । गत मंसिरदेखि माघसम्म १ हजार दढि हुम्लीहरूले पञ्चकर्म सेवा लिइसकेका छन् ।

स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गत सञ्चालित आयुर्वेद शाखाले गाउँपालिकास्तरमा आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवाको विस्तार गरिरहेको छ । आयुर्वेद शाखा हुम्लाका प्रमुख कविराज निरिक्षक कृष्णचन्द जोशीले हुम्ली नागरिकहरूले घरदैलोमै आयुर्वेद उपचार सेवाको लाभ लिने गरेको जानकारी दिए ।

उमेर समुहका हिसाबले २० वर्षदेखि ८५ वर्षसम्मका जेष्ठनागरिकहरू यसबाट लाभान्वित भएका छन् ।

पञ्चकर्म उपचार पद्धतिमा धेरै सेवा सुविधा भए पनि हाल स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा हुम्लाले वाफ लिने, मालिस गर्ने र विभिन्न प्रकारका उपयुक्त रसासन उपलब्ध गराएकाले आफुलाई धेरै राम्रो भएको सिमकोट ५ की भरुनी रोकायाको अनुभव छ ।

हाल प्रति दिन एक दर्जनभन्दा धेरैले यो सेवा लिंदैं आएका छन् । अझ जेष्ठ नागरिक लगायत विभिन्न वर्ग र क्षेत्रका हुम्लीहरूलाई नियमित २५ प्रकारका आयुर्वेद औषधी उपलब्ध गराउनुका साथै पञ्चकर्मलाई प्राथमिकता दिइएको छ । यो सेवाबाट स्थानीयस्तरमा देखिएको शित ज्वरो, बाथ, कफ तथा जीउ दुख्ने बिरामीहरूलाई राहत मिलेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु