२० फाल्गुन २०७७, बिहीबार

दुई करोड हिनामिना गर्ने पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत निलम्बित



कर्णबहादुर रोकाया

२ फागुन, हुम्ला । गत आर्थिक वर्षमा दुई करोड हिनामिना गरी चार महिनासम्म कार्यालयमा उपस्थित नभएका सर्केगाड गाउँपालिकाका पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत तीन महिनाका लागि निलम्बनमा परेका छन् ।

साउनदेखि कात्तिकसम्म विना सूचना तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही (प्राविधिक सहायक छैटौं) चार महिनासम्म सर्केगाड गाउँपालिकामा उपस्थित भएनन् । त्यसैले सर्केगाड गाउँपालिका हुम्लाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले ९० दिनसम्मका लागि निलम्बन गरेका छन् ।

यसअघि असार मसान्तदेखि साउनको पहिलो हप्तासम्म सर्केगाड गाउँपालिका नागरिकहरू आफुले सम्पन्न गरेका योजनाहरूको भुक्तानी लिन आउँदा बजेट छैन भनेर जिम्मेवार कर्मचारीहरू बिरामी र अन्य विभिन्न बहाना बनाएर शहरतिर पसेपछि रित्तो हात फर्कनु परेको नाम नबताउने शर्तमा पीडित स्थानीयहरूले जानकारी दिएका छन् ।

यदि निलम्बन नगरेको भए ति काजगातहरूको मिलान हुने र मिलान गर्न नसकेको खण्डमा नाँसमाँस हुने भएकाले निलम्बन गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले स्पष्ट पारे ।

तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीलाई २०७७ माघ २९ गतेदेखि लागु हुने गरी ९० दिन निलम्बन गरिएको पत्र सार्वजनिक भएको छ ।

उता सर्केगाड गाउँपालिकामा हाल प्राविधिक अधिकृत (छैटौं)मा कार्यरत रुद्रबहादुर शाही अहिले आफु कुनै तलमाथि नगरेको र प्रमुख प्रशासकीय अधिकृत आचार्यले मदिरा सेवन गरी गाउँपालिकाको लेटरप्याड दुरूपयोग गरेको भन्ने तर्क पेश गरेका छन् । आफ्नो मानहानी गरेकाले आफु पनि माथिल्लो निकायमा जाने शाहीले बताएका छन् ।

दुई करोड बजेटको हिनामिनाको कुरामा उक्त गाउँपालिकाका जिम्मेवार जनप्रतिनिधिहरू पनि विभाजित भएका छन् । कसैले आचार्यलाई समर्थन गरेका छन् भने कसैले शाहीको समर्थन गरेका छन् ।

यो काण्ड झुटो, साँचो जे जस्तो भए पनि घाउ नभएर झिङ्गा बस्दैन भन्ने हुम्ली कथनलाई मनन गरेर सत्यतथ्य छानबिन गर्नुपर्ने देखिएको छ । साँच्चै यी किम्बदन्तीहरू कहिले साँचो कुरामा परिणत हुन्छ कि भन्ने चासो हुम्लीहरूको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु