नयाँदिल्लीको एपोलो अस्पतालमा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य परिक्षण हुँदै
३० माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि आज भारत गएका छन् ।
धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि खनाल नयाँ दिल्ली गएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
उनी पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना भाइरस (कोभिड–१९) को कारणले भारत जानु भएको बताइएको छ । चीनमा जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले खनाल भारत गएका हुन् ।
स्वकीय सचिव भट्टराईका अनुसार उनी आजै स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्लीको एपोलो अस्पतालमा भर्ना भइसकेका छन् । स्वास्थ्य परीक्षण गराएर चारदिनपछि उनी स्वदेश फर्किनेछन्।