कर्णाली प्रदेशले ल्यायो छोरीबुहारी छात्रवृत्ति : हुम्लामा दश कोटा
कर्णबहादुर रोकाया
३० माघ, हुम्ला । हुम्लाका लागि आर्थिक वर्ष २०७७/०७८ को लागि सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सरकारले दश जना छोरी–बुहारीलाई प्राविधिक अध्ययन क्षेत्रतर्फको एक वर्षे छात्रवृत्ति प्रदान गर्ने भएको छ । यसका लागि स्थानीय सञ्चारमाध्यमहरूबाट खुला सूचना आह्वान गरिएको छ ।
सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयले प्रत्येक जिल्लामा स्थापना भएका सामाजिक विकास कार्यालयहरूबाट प्रति जिल्ला दश कोटा छात्रवृत्ति निर्धारण गरेको सामाजिक विकास कार्यालय हुम्लाका सूचना अधिकारी धर्मराज वोहराले जानकारी दिएका छन् ।
यो छात्रवृत्तिका लागि जिल्लामा स्थायी बसोबास गरिरहका जेहेन्दार, अघिल्लो वर्षहरूमा कुनै सरकारी सेवा सुविधा नलिएका र जागिर लगायत अन्य आयआर्जनमा संलग्न नभएका छोरीबुहारीहरूलाई छनोट गरिनेछ । त्यसका लागि विभिन्न सञ्चार माध्यममा सूचना जारी भएको तीस दिनभित्र आफुले आर्जन गरेको शैक्षिक योग्यताका प्रमाणपत्रहरू, नेपाली नागरिकताको प्रमाणपत्र, स्थायी बसोबास गरेको गाउँपालिकाको प्रमाणित कागजातहरू, अध्ययनरत शैक्षिक संस्थाको सिफारिशपत्र लगायतका आवश्यक कागजपत्रहरू समावेश गरेर सामाजिक विकास कार्यालय हुम्लामा यिहि माघ २९ गतेदेखि फागुन २९ गतेसम्म आवेदन दिन सकिने छ ।
विशेषतः छोरी–बुहारी छात्रवृत्तिका लागि नर्सिङ्ग, हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्यावटेक्निसियन, रेडियोलोजिष्ट, कविराज, नेत्र सहायक, बाली विज्ञान, पशु विज्ञान, बागवानी विज्ञान, इन्जिनीयरिङ्ग, सूचना प्रविधि र वन विज्ञानका लागि आवेदन दिन सकिने सामाजिक विकास कार्यालय हुम्लाले सूचनामा उल्लेख गरेको छ ।
यो छात्रवृत्तिअन्तर्गत छोरीबुहारीहरूले एकवर्षका लागि एकमुष्ट एक लाख अनुदान पाउने भएका छन् । यस्ता विभिन्न प्रकारका छात्रवृत्तिहरू पनि अघिल्लो वर्षहरूमा प्रदेशस्तरबाट नै खोलिने भएकाले चौतर्फी आलोचना भएको थियो । यो वर्ष सम्बन्धीत जिल्लाबाट नै सूचना आह्वान गरिएको हुँदा धेरै स्थानीयहरू सहभागी भएर लाभान्वित हुने आशा गरिएको छ ।