विना शर्त रीहा भएपछि झाँक्रीले भनिन्ः ‘प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो’
२९ माघ, काठमाडौं । राष्ट्रपतिबिरूद्ध अभिव्यक्ति दिएको भन्दै आज बिहान पक्राउ परेकी नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री विना शर्त रीहा भएकी छिन् । प्रहरी हिरासतबाट रिहा भएपछि नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताउदै आफुमाथि राजनीतिक दूव्र्यवहार भएको आरोप लगाएकी छिन् ।
महानगरीय अपराध महाशाखाको टोलीले राज्यविरूद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान उनलाई पक्राउ गरेको थियो । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनलाई रिहा गरिएको छ ।
रिहाइपछि नेतृ झाँक्रीले प्रतिगमनविरूद्धको आन्दोलनलाई उत्कर्षमा पुर्याउन भूमिका खेलेका कारण आफूलाई पक्राउ गरिएको प्रतिक्रिया दिएकी छिन् । उनले लोकतन्त्र पक्षधरहरूको दबावमा आफू रिहा भएको बताइन् ।
उनले देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भइसकेकाले नेकपा प्रचण्ड–माधव समूहको जितको प्रकृया शुरु भइसकेको बताइन् ।
उनलाई प्रहरीले मुलुकी अपराध फौजदारी संहिता ऐन, २०७४ को राज्यविरूद्धको कसूर अन्तर्गत दफा ५८ बमोजिम पक्राउ गरेको थियो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले झाँक्रिको बयानपछि मुद्दा चलाउनुपर्ने आवश्यकता नरहेको भन्दै छाडिएको बताए ।