राष्ट्रपतिविरूद्ध बोलेको भन्दै नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ
२९ माघ, काठमाडौं । राष्ट्रपतिविरूद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।
महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरूले झाँक्रिलाई उनको निवासबाटै पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अखिल नेपाल महिला संघले दिएको उजुरीका आधारमा झाँक्रीलाई नियन्त्रणमा लिइएको बताएका छन् ।