‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार
२८ माघ, काठमाडौ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर सो कृतिलाई रु एक लाख राशिको उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रेस विज्ञप्तिमार्फत इञ्जाले जानकारी दिइएको छ ।
संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ मा आजभन्दा साढे चार दशकअघिको काठमाडौँको दृश्य, परिवेश तथा तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरिएको छ । काँठेजीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, सङ्घर्ष र पीडाको कथा पुस्तकमा छ ।
कसरी कोटेश्वरका स्थानीयवासीलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत पुस्तक एउटा गतिलो खुराक बन्न सक्ने शिक्षा तथा साहित्य क्षेत्रका मूर्धन्य व्यक्तिको धारणा छ ।
तीन दशक लामो पत्रकारिताको अनुभव सम्हालेका पराजुलीले अक्षरहरूसँग पाठमा पत्रकारिताका अनेक तीतामीठा प्रसङ्ग उल्लेख छ । कथा लेखनमा विशेष दक्खल राख्ने पराजुलीका यसअघि विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा माक्र्स २०६८, शुक्रराज शास्त्रीको चश्मा २०७३, भ्रष्ट संवेदना, अघोरी २०७५ कथासङ्ग्रह प्रकाशित छन् । अनायिका उपन्यास पनि उनकै कृति हो ।
(रासस)