कर्णाली नदी तर्न तुइनकै भर, हुम्लीको गुनासो कसैले सुनेन !
२७ माघ, काठमाडौं । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका–२ रिपगाउँका नागरिकले तुइन तर्नु परेको हो ।
पुल नहुँदा बर्सेनि तुइन तर्नु परिरहेको सर्केगाड–२ रिपगाउँका स्थानीयवासी जुनदेवी फडेराले बताइन् । हिउँदयाममा नदीको बहाव कम भएका कारण तुइन तर्न कम जोखिम भए पनि बर्खायाममा भने त्रासका बीच तुइन तर्नु परिरहेको फडेराले गुनासो छ । उक्त गाउँका २०० घरधुरीका बासिन्दा दाउरा, घाँसका लागि दैनिकरूपमा तुइन तर्ने गरेका छन् । घाँस र दाउरा पनि तुइनमै तार्नुपर्ने भएका कारण धेरै भारी नदीमा खसेको फडेराले बताइन् ।
यस्तै खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ मा रहेको कर्णाली नदीमा समेत तुइनकै भर पर्नुपर्ने अवस्था छ । गाउँपालिकामा काम पर्दा तुइन तरेर जानुपर्ने बाध्यता नहटेको खार्पुनाथ–४ छिप्रागाउँका स्थानीयवासी बबरजङ्ग हमालले बताए । उक्त स्थानमा झोलुङ्गे पुल बनाउने योजना भए पनि निर्माण कम्पनीले हालसम्म नबनाएका कारण स्थानीयवासीलाई तुइनकै भर पर्नुपर्ने बाध्यता रहेको हमालले बताए । उक्त तुइन तर्दा धेरै स्थानीयवासीका हातमा चोट लागेको बताउदै हमालले केही महिना अगाडि एक जना स्थानीयवासी तुइनबाट खसेर घाइते भएको बताए । खार्पुनाथ शिवालयबाट गाउँपालिका केन्द्रमा जाँदा बाटो लामो पर्ने भएका कारण स्थानीयवासी सबै तुइन नै तर्ने गर्छन् ।
त्यसैगरी खार्पुनाथ वडा नम्बर २ बोक्चेगांैडा क्षेत्रमा पनि स्थानीयवासी तुइनबाटै आवतजावत गर्ने गरेको बटुवा हिक्मत शाहीले बताए । पुलको योजना परे पनि निर्माण नहँुदा यसै आर्थिक वर्ष गाउँपालिकाले कर्णाली नदी वारपार गर्न दुई स्थानमा सिमेन्टको पिलरसहितको तुइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए । उनले भने, ‘स्थानीयवासीको ज्यान जोखिममा पर्ने भएका कारण तुइन निर्माण गर्नुपरेको हो ।’
सरकारले देशलाइ नै तुइन मुक्त गर्ने भनेपनि हुम्ला जिल्लामा मात्रै कर्णाली नदीमा आधा दर्जन तुइन निर्माण भएका छन् । प्रधानमन्त्री केपी ओलीले भन्ने गरेको समृद्धि खालि गफमा मात्रै सिमित भएका कारण जनता यसरी नै दुःखको भारी बाकेर बाँचिरहेका छन् ।
(रासस)