आयोग पुगेर ओलीले भनेः ‘मेरो नेतृत्वको नेकपा नै आधिकारिक हो, निर्वाचनको काम अघि बढाउनुुस्’
२७ माघ, काठमाडौं । निर्वाचनको तयारीबारे बुझ्न आज निर्वाचन आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् ।
उनले आफु सधै सूर्य चिन्हबाट चुनाव लड्दै आएको र तत्कालिन नेकपा एमालेको निर्वाचित अध्यक्ष पनि भएकाले पार्टीको आधिकारिकताको दाबी गरेका हुन् ।
उनले २०७६ को मंसिरमा भएको उपनिर्वाचन र माघमा राष्ट्रिय सभाको निर्वाचनमा आफ्नै हस्ताक्षर पठाएको प्रसंग सुनाउँदै आफूबाहेक कोही आधिकारिक हुन नसक्ने दाबी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘दुई पार्टीको एकता भएपछि म प्रथम अध्यक्ष हो । मेरै हस्ताक्षरमा पार्टीका निर्णयहरू लागु भएका छन् । मैले आजसम्म सूर्य चिन्हमै चुनाव लडेको छु ।’ ओलीले अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठकबाहेक अरू कुनैपनि बैठक आधिकारिक नहुने दाबी समेत गरेका थिए ।
प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई निर्वाचनको कामलाई निरन्तर अघि बढाउन सुझाव दिँदै आवश्यक सबै स्रोत साधन उपलब्ध गराइने बताएका छन् ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल,ओली पक्षका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, कानुन मन्त्री लीलानाथ श्रेष्ठलगायत नेताहरू आयोग गएका थिए । निर्वाचन आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र अन्य आयुक्तहरू सहभागी थिए ।