३ आश्विन २०८०, बुधबार

प्रधानमन्त्री ओली ११ बजे निर्वाचन आयोग जादै !



२७ माघ, काठमाडौं । नेकपामा कुन पक्षले आधिकारिकता पाउला भन्ने आम चासो बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जादैछन् ।

प्रमुख आयुक्तको भनाइलाई उदृत गर्दै निर्वाचन आयोग स्रोतले प्रधानमन्त्री ओली आज विहान ११ बजे आयोग आउने कार्यक्रम रहेको जानकारी दिएको छ । ‘प्रधानमन्त्रीज्यू आज बिहान ११ बजे आयोग कार्यालय आउने जानकारी हिजो प्रमुख निर्वाचन आयुक्तले दिनुभएको थियो,’ आयोग स्रोतले भन्यो ।

वैशाखमा सरकारले घोषणा गरेको निर्वाचन र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग आउन लागेको हुन सक्ने स्रोतको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि दुई ध्रुबमा विभिाजित नेकपा ओली समूह र प्रचण्ड–नेपाल समूह दुबैले पार्टीको आधिकारिकता दाबी गरिरहेका छन् ।

यसअघि गत माघ २० गते नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए ।

तर आयोगले भने हालसम्म कुनै पनि समूहलाई नेकपाको आधिकारिकता दिएको छैन । पार्टी एकतापछि निर्वाचन आयोगमा दर्ता गरिएको पदाधिकारीसहितको केन्द्रीय कमिटि र विधानलाई मात्रै आधिकारीक मान्ने आयोगले स्पष्ट पारिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको