नेपाली राष्ट्रिय फुटबलर अभिषेक आइजवालबाट आई लिग खेल्दै
२७ माघ, काठमाडौं । निकै सम्भावना बोकेका नेपाली राष्ट्रिय फुटबल टिमका युवा फरवार्ड अभिषेक रिजालले आइजवाल एफसीबाट भारतको आई लिग खेल्ने भएका छन् ।
यसअघि आइ लिग क्वालिफायरमा मोहम्मेदन एसएसबाट खेलेका अभिषेक सिजनको बाँकी समयका लागि आइजवालमा आबद्ध हुन लागेका हुन् ।
मोहम्मेदन आइ लिगमा छनोट भएपछि एएफसी खेलाडीको कोटामा बंगलादेशी कप्तान जमाल बुयानलाई अनुबन्ध गरेको थियो । जसले गर्दा अभिषेकले आइ लिग खेल्न पाएनन् ।
अब बाँकी सिजनका भने अभिषेकले सन् २०१७ को आइ लिग च्याम्पियन टोली आइजवालबाट खेल्ने पक्का भएको हो । आइजवालले उनलाई मार्च सम्मको लागि अनुबन्ध गरेको अभिषेकको सम्झौतामा एजेन्टको रूपमा काम गरेका रविन्द्र चन्दले बताए ।
चन्दका अनुसार मोहमेदनबाट कोलकता लिग खेल्ने अवसर भएपनि आइ लिगकै क्लब खोजिरहेको अवस्थामा आइजवालसंग सम्झौता भएको हो ।
हाल राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका अभिषेक केही दिनपछि भारत प्रस्थान गर्नेछन् ।
अहिले नेपालका सर्वोत्कृष्ट गोलकिपर किरण चेम्जोङ राउण्डग्लास पञ्जावबाट खेलिरहेका छन् । पछिल्लो समय नेपाली खेलडीहरू विदेशी क्लवहरूमा अनुबन्ध हुने क्रम बढ्दै गएको छ ।