युवासंघमा पनि ओली प्रवृत्ति हावि, वादल समूहद्वारा भेला बहिस्कार
२७ माघ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी प्रवृत्तिले नेकपा विवाद उत्कर्षमा पुगेर पार्टीको वैधानिकता विवाद निर्वाचन आयोगमा विचाराधिन छ । यहिबिचमा तात्तै खाउँ जल्दै मरौँ जस्तै गरी सङ्गठन विस्तारको चटारोमा लागिरहेको ओली समूहभित्रैको आन्तरिक कलह छरपष्ट भएको छ ।
संसद विघटनपछि प्रचण्ड निकट मात्र होइन १० वर्षे जनयुद्धका सहयात्री, अहिलेका गृहमन्त्री रामबहादुर थापाले प्रचण्डलाई चटक्कै छोडेर केपी गुटसँग हातेमालो गर्दै ठुलो सरप्राइज दिए । तर नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा ओली प्रवृत्ति हावि भएपछि रामबहादुर थापा बादल समूहका नेताहरूले भेला नै बहिष्कार गरेका छन् ।
बादल निकट वीरु तामाङको नेतृत्वमा भेला बहिष्कार गरिएको छ । तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए भने ढुंगाना सचिव थिए ।
तत्कालिन वाइसिएलका सचिब सबित ढुंगानाले युवा संघमा बादल निकट ५६ जना रहेको दाबि गरेका छन् । उनले भने, ‘निषेध गरेर जान खोजिएपछि हामी भेलामै गएनौं । त्यो भेला गुटको हो भन्ने उहाँहरूले प्रमाणित गर्नुभयो ।’ । ३ सय ३५ जनाको कमिटीमा ८१ जनाले गरेको निर्णय अवैध भएको बताउदै ढुंगानाले एक तिहाइले नयाँ नेतृत्व चयन गर्ने भन्ने कुरा कुनै पनि दृष्टिकोणले विधिसम्वत नभएको बताए ।
एमाले र माओवादी एकतापछि युवा संघमा ३३५ सदस्यीय कमिटी बनेको थियो । सहसंयोजक रमेश पौडेलको नेतृत्वमा भएको भेलामा ८१ जना मात्र सहभागी भएर आफूहरूको फरक मत हुँदाहुँदैपनि एकलौटी ढंगले निर्णय प्रक्रिया अगाडी बढाइएको ढुंगानाले बताए ।
बादल निकटहरुले बहिष्कार गरेपनि भेलाले नेतृत्व चयन प्रक्रिया भने अगाडि बढाएको छ । एक नेताका अनुसार आइतबार नै सहसंयोजक पौडेललाई संयोजक घोषणा गरिएको थियो । तर त्यसमा सबै एकमत नभएपछि नयाँ संयोजक तोक्नेगरी छलफल भइरहेको छ । पौडेलले आफूले छोड्दा बचन सिंहलाई संयोजक बनाउनुपर्ने अडान लिएका छन् ।
इन्चार्ज महेश बस्नेतले भने नयाँ संयोजक किरण पौडेललाई बनाउन चाहेका छन् । सोमबार दिनभर भएको छलफलपछि बहुपदीय संरचनामा जाने सम्भावना बढेको प्रभातविक्रम कट्वालले बताए । तर बहुपदीय संरचनामा जाँदा पनि विवाद हल हुने सम्भावना कम रहेको एक नेताले बताए ।
बादल निकट युवा संघका प्रतिनिधिले भेला बहिस्कार गरेपनि ओली निकट युवासंघका पदाधिकारीबिच नै खटपट हुने देखिएको छ । यसरी भेला नै बहिस्कार गर्ने अवस्था सिर्जना हुनुले ओली र बादलको दिर्घकालिन राजनीतिक सहकार्यमा समेत प्रश्न खडा गरेको छ ।