५ कार्तिक २०७८, शुक्रबार

उँचाइ -अटल बिहारी वाजपेयी (कविता)



उँचाइ

अग्ला हिमचोटीमा
रुखहरू हुँदैनन्,
बिरुवा उम्रिदैनन्,
न हुन्छ घाँसकै खैरियत
हुन्छ त खैरियत फगत बरफको
जो हुन्छ कफन जस्तै सफेद औ,
मृत्यु जस्तै ठण्डा,
खेल्ने, हस्सि मजाक गर्ने नदी
उनैको रूप धारण गरेर
पुर्पुरोमा हात राख्दै ढिका ढिका आँशु झार्छ
यस्तो उँचाइ,
जसको स्पर्शमा
पानी पत्थर बन्छ,
यस्तो उँचाइ
जसको दर्शन गर्दैमा हीन भाव चुलिन्छ,
अभिनन्दनको अधिकारी हो,
आरोहीहरूको निम्ति आमन्त्रण हो,
उसको शिरमा ति झण्डा गाड्न सक्छन् ,
परन्तु त्यहाँ कुनै भंगेरो,
गुँड लाउन सक्दैन,
न कुनै लखतरान भुको बटुवा
क्षणभर नै सही उसको छहारीमा यसो उँघ्न सक्छ

केवल उँचाइ काफि हुँदैन,
साँचो यहीं हो,
सबैसँग अलक–थलग
परिवेशबाट पृथक
आफ्नैसँग कट्टिएर छुट्टिएर
शुन्यमा एक्लो उभिनु
पहाडको महानता होइन
विवशता हो

उँचाइ र गहिराईमा
आकाश जमिनको फरक छ
जो जति अग्लो
ऊ उत्ति नै एक्लो हुन्छ,
सबै भारी आफै बोक्छ,
अनुहारमा फिस्स हाँसो भए पनि
मन मनै रोई हिड्छ

उँचाइसँगै विस्तार पनि होस्
जसले गर्दा मान्छे
ठुटो जस्तो भएर उभिनु न परोस
अरुसँग घुलमिल हुन सकोस्
कसैसँग सँगै हिड़ोस्

कसैको साथ लिन सकोस्
भींडमा हराउनु ,
स्मृतिमा डुब्नु,
स्वयंलाई बिर्सनु,
तिनले अस्तित्वलाई अर्थ,
जीवनलाई सुगन्ध दिन्छन्
धर्तीलाई भुईंफुट्टाको होइन,
उच्च कदका मानिसको खाँचो छ

यति उच्चो कि गगन छुउन्
नयाँ नयाँ नक्षत्रमा प्रतिभाका बिऊ रोपुन्
परन्तु त्यति उच्चो पनि नहोउन्
कि पाउमुनि दुवो न माडियोस्
कुनै काँडा न बिझोस्
कुनै कलि न मौलाओस्
न वसन्त होस् न न पतझड
फगत होस् ऊँचाईको आँधी,
मात्र एक्लोपनको सन्नाटा

मेरो प्रभु !
मलाई त्यति उचाई कहिल्यै नदिनु
कि परायासँग अङ्गालो हाल्न नसकूँ
यति रुखोपन कहिल्यै नदिनु

भावानुवाद – टंक कार्की
कार्की
चीनका पूर्व राजदुत हुन् । याे कविता पूर्व राजदुतकाे फेसवुक स्टाटसबाट लिइएकाे हाे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको