हुम्लामा ५ सय जनाले लगाए कोरोनाविरूद्धको खोप
कर्णबहादुर रोकाया
२६ माघ, हुम्ला । हुम्लामा पहिलो चरणमा करिब पाँच सय जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् । अग्रपङ्क्तीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरफाई र अन्य क्षेत्रमा कार्यरत जनशक्तिलाई उक्त खोप लगाइएको हो ।
हुम्लाको तीन स्थानलाई खोप केन्द्र बनाएर कोरोना विरुद्धको खोप लगाइएको छ । अग्रपङ्क्तीमा सक्रिय स्वास्थ्य ताथ अन्य क्षेत्रका जनशक्तीलाई यो खोप दिन सजीलो होस् भनेर मोबाइल खोप अभियान पनि सञ्चालन गरिएको कोरोनाविरुद्धको खोप अभियानका सम्पर्क व्यक्ति मानबहादुर रोकायाले जानकारी दिए ।
पहिलो चरणमा स्वास्थ्य क्षेत्रका ८४जना, महिला स्वास्थ्य स्वयमसेविका १२३ जना, सुरक्षाकर्मी र कैदीबन्दी १२४ जना, नेपाली सेना १७ जना र सरसफाइकर्मी १ जना गरी जम्मा ४ सय ९३ जनाले खोप सेवा प्राप्त गरेकय छन् । जसमा २०५ जना महिला र २८८ जना पुरुष रहेका छन् ।
जिल्लामा नै पहिलो खोप लगाउने डा. टसीआंमु लामाले केही सामान्य प्रकारको लक्षण देखिए पनि कोरोनाविरुद्धको खोप कोभिशिल्ड प्रयोग गर्दा कुनै नराम्रो असर नदेखिएको बताइन् ।
पहिलो चरणमा हुम्लालाई तीन खोप केन्द्र बनाएर खोप लगाइएको छ । सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकालाई सिमकोटमा व्यवस्थापन गरिएको हो । यसैगरी ताँजाकोट र अदानचुलीलाई एक केन्द्रबाट र चंखेली सर्केगाडलाई अर्को केन्द्र बनाएर खोप लगाइएको हो ।