मेलम्चीको पानी वैशाखमा काठमाडौंबासीको घरघरमा आइपुग्छ : खानेपानी मन्त्रालय
२६ माघ, काठमाडौ । खानेपानी मन्त्रालयका सहसचिव सुनिल कुमार दासले वैशाखको पहिलो हप्ता मेलम्चीको खानेपानी काठमाडौंबासीको घर–घरमा आइपुग्ने बताएका छन् । मेलम्चीको खानेपानी वितरण समितिका संयोजक समेत रहेका सहसचिव दासले यो बिचमा प्राविधिक काम सम्पन्न गरेर बैशाखमा काठमाडौंमा मेलम्चीको पानी झारिने बताएका हुन् ।
सहसचिव दासले भने, ‘अबको पन्ध्र दिनमा मेलम्चीको पानी सुरुङमा हाल्ने, पन्ध्र दिन जत्ति होल्ड गरिने र प्रशोधन गर्ने लगायतको काम गरी वैशाखको पहिलो हप्ता उपयोग गर्न सकिनेछ ।’
वाटर ट्रिटमेन्ट प्लान्ट कसरी सञ्चालन गर्ने र वितरण सञ्जालबाट कसरी उपत्यकाबासीको घरघरको धारामा पानी पुर्याउने भन्ने नै हालको मुख्य चुनौती भएको उनले बताए । ट्रिटमेन्ट प्लान्ट सञ्चालन भएपछिको तीन महिनासम्म ठेकेदार कम्पनीले नै सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि त्यसपछि सरकारले नै सञ्चालन गर्ने उनले बताए ।
मेलम्चीको खानेपानी वितरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भन्दा अर्को विकल्प नभएको उनले जानकारी दिए । केयूकेएलसँग दक्ष जनशक्ति, व्यवस्थापकीय क्षमता र उच्च प्रविधिक उपकरण एवम् लामो समयको अनुभव भएकाले पनि मेलम्चीको पानी वितरणको जिम्मा केयूकेएलकै भएको उनले बताए ।
देशको राजधानी बसेर पनि वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका काठमाडौं उपत्यकाबासी मेलम्चीको ब्यग्र प्रतिक्षामा छन् । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू भएसँगै पूर्णरूपमा नभएपनि धेरैहदसम्म खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।