इटहरीको पीपलचोकमा मोटरसाइकल दुर्घटना, बाबुछोराको मृत्यु
२४ माघ, काठमाडौं । इटहरीको पीपलचोकमा शुक्रबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा बाबु छोराको मृत्यु भएको छ ।
धरानबाट इटहरी जाँदै गरेको प्रदेश १–०१–०४४प १२५६ मोटरसाइकल दुर्घटना हुँदा सवार छोरा (५० वर्षीय नुरजंग मल्ल) र बाबु (८२ वर्षीय कुबेरबहादु मल्ल) को मृत्यु भएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कोसी राजमार्गको इटहरी वडा नम्बर २ पिपलचोकमा दिउँसो साढे २ बजेतिर मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक सञ्जीव शर्माले तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको रिपोर्ट आएको जानकारी दिए ।
उदयपुर रुपाटार वडा नम्बर २ घर भइ हाल इटहरी–८ मा बसोबास गर्ने बाबुछोरोको उपचारका क्रममै मृत्यु भएको हो । प्रहरी उपरिक्षक शर्माले भने, ‘दुर्घटना हुँदा गम्भीर घाइते भएका दुबैलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारको क्रममा दुबैको केही समयमै मृत्यु भएको पुष्टि भएको छ ।’
त्यस्तै सुन्दरहरैंचा नगरपालिकामा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिदाँ ३५ वर्षीय अजय लिम्बूको मृत्यु भएको हो ।