हुम्लामा तेस्रो पटक हिमपात, किसानहरू खुशी (फोटो फिचर)
कर्णबहादुर रोकाया
२४ माघ, हुम्ला । हुम्लामा यो वर्ष कम हिमपात भएको छ । केही मात्रामा भए पनि तेस्रो पटक हिमपात हुँदा केही मात्रामा भए पनि खेतीपातीका लागि सहयोग पुग्ने भएकाले किसानहरू खुशी भएका छन् ।
यो पटक बिहीबार बेलुकादेखि शुक्रबार बेलुकासम्म हिमपात भए पनि सालाखाला जम्मा दुई इन्च जति मात्र हिउँ परेको छ । हुम्लाको माथिल्लो क्षेत्रमा भने केही धेरै हिउँ परेको छ । तल्लो क्षेत्रमा सीमसीम पानी पनि परेको छ । यो हिमपात र वर्षाले गहुँ, जौ र उवा उम्रनलाई सहयोग पुग्ने आशा गरिएको राहदेउ गाउँका विकास रोकायले बताए ।

हुम्लामा हिउँलाई समष्टिगत रूपमा जल उपयोगीताको स्रोत र सन्दर्भ मान्ने गरिएको छ । यसैले पनि हिउँको अति महत्वपूर्ण स्थान रहेको छ । बालीनाली, खानेपानीको स्रोत, आगलागी नियन्त्रण, वनजङ्गगल संंरक्षण, जीवजन्तुको सुरक्षा र पर्यटकीय आकर्षणका लागि उपयोगी छ ।
माघ महिनामा तापक्रम बढ्दै जाने भएकाले पनि जमिन चिसो नहुँदासम्म नजम्ने भएकाले पनि हिउँ कम परेको हो । अब यो हिउँले जताजतै आगलागी, खडेरी, धुलो, धुवाँ र रूघाखोकीलाई कम गर्ने लांदुक गाउँका छिरिंग लामाले जानकारी दिए ।

हिउँ कम पर्दा भोग्नुपरेका कठिनाईका बाबजुद पनि हुम्ली किसानहरू खुशी भएका छन् । अब वरपरका काला हिमाल सेता भएका छन् । खडेरी परेको जमिन ओसिलो भएको छ । अझ धेरै हिउँ पर्ने आशा गरिए पनि यो वर्ष अघिल्ला वर्षभन्दा कम हिमपात भएको छ ।


