नेकपा (प्रचण्ड–माधव) समुहका नेताले गरे प्रहरी हिरासतभित्रै खुला सभा
२३ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा गरेको संसद विघटनविरूद्ध बिहिबार नेकपा (प्रचण्ड–माधव) समुहले गरेको आमहड्तालका क्रमका काठमाडौंँ उपत्यकामा पक्राउ परेका अधिकाँश प्रदर्शनकारी नेता तथा कार्यकर्ताहरू महाराजगञ्चको प्रहरी तालिम केन्द्रमा राखिएको थियो । पक्राउ पर्नेमा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, डा.विजय पौडेल, कृष्ण के.सी., अमृता थापा मगरलगायत करिव ७०–७५ जना नेता–कार्यकर्ताहरू रहेका थिए ।
पक्राउ परेका नेता–कार्यकर्ताहरू महाराजगञ्जको हिरासतभित्रै प्रधानमन्त्री ओलीको कदमका विरुद्ध खुला कार्यक्रम नै गरे । अन्तरक्रियात्मक रूपमा गरिएको उक्त कार्यक्रममा परिचय, भूमिगत काल र जनयुद्ध कालका अनुभुतिहरू साटासाट गर्ने, कविता वाचन लगायत नेताहरूले प्रशिक्षणमुलक मन्तव्य दिएका थिए ।
करिव ७ दशकको संघर्षबाट बनाइएको जनताको संविधानलाई के.पी. शर्मा ओलीले ज्ञानेन्द्र र महेन्द्रलाई समेत उछिनेर धुजाधुजा पारेपछि बन्द हड्ताल गर्नु पर्ने वाध्यता आएको र अबका कसरी अगि बढ्ने भन्ने विषयमा गहन अन्तरक्रिया भएको नेकपा (प्रचण्ड–माधव) समुहका केन्द्रीय सदस्य कृष्ण केसीले जानकारी दिए । कार्यक्रम प्रहरीका माथिल्लो तहका अधिकारी देखि तल्लो तहका जवानले समेत रुचिपूर्वक सुनेको नेता के.सी.ले बताए ।
नेता के.सी.ले भने, ‘हिजोदेखि नै के.पी. ओली र विद्या भण्डारी गणतन्त्रका विरोधी थिए । राजनीतिक घटनाक्रमले प्रधानमन्त्री र राष्ट्रपती भएका उनीहरूले खास गणतन्त्रवादीहरूलाई सडकमा धकेलेर आफू राजा र रानी हुन खोजेका छन् । जुन कुरा उनीहरूका लागि अभिशाप सिद्ध हुनेछ ।’