१८ फाल्गुन २०७७, मंगलवार

भोली प्रचण्ड–नेपाल समूहको आमहड्ताल, प्रहरीले बनायो ‘आकस्मिक सुरक्षा योजना’



२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले भोली माघ २२ गते आह्वान गरेको देशव्यापी आमहड्ताललाई लक्षित गरी नेपाल प्रहरीले आकस्मिक सुरक्षा योजना बनाएको छ ।

बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

कार्यालयका अनुसार सुरक्षा योजनालाई सफल पार्न साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती गरी प्रहरीको परिचालन अत्याधिक बढाइएको छ ।

शान्तिपूर्ण वातावरणमै आमहड्ताल सम्पन्न होस् र सर्वसाधारणले शान्ति सुरक्षा र अमनचयनमा कुनै बाधा नपुगोस भन्ने उद्देश्यले उपत्यकाका तीन वटै जिल्लास्थित सुरक्षा प्रमुखहरूलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले राजनीतिक पार्टीको विरोध आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा बाधा नपर्ने बताए । उनले भने, ‘तर जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड भए प्रहरीले नियन्त्रणणमा लिएर कारबाही गर्छ । कुनै पनि धनजनको क्षति नहोस् भन्नेतर्फ प्रहरी सचेत छ ।’

उपत्यकामा रानीपोखरीले र अन्य ठाउँमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना बनाएका छन् । त्यसमा केन्द्रबाट आवश्यक निर्देशन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।

प्रचण्ड–नेपाल समूह र नागरिक समाजले शान्तिपूर्ण आन्दोलन गर्दा पनि प्रहरीले दमन गरेको बताइरहेका छन् । प्रहरी प्रवक्ता कुँवरले भने शान्तिपूर्ण रूपमा आमहड्ताल सम्पन्न गराउने तर्फ सुरक्षाकर्मीहरू सुरक्षाकर्मीहरूलाई केन्द्रित गराइएको बताए । तर नागरिकको मौलिक हक र स्वतन्त्रतालाई बाधा पर्ने काम भएमा प्रहरीले हस्तक्षेप गर्ने उनले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु