२१ जेष्ठ २०८०, आईतवार

नेपाली कलासाहित्य डटकमले जनगायक रामेशदेखि मधुसूदन गिरीसम्मलाई सम्मान गर्ने



२१ माघ, काठमाडौं । गीतमार्फत् जनताका हक अधिकार सुनिश्चित हुनुपर्छ भन्दै सारा जिवन नै समर्पित गरेका वरिष्ठ जनगायक रामेश श्रेष्ठलाई यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७७’ प्रदान गरिने भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत १३ वर्षदेखि प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष रामेशलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिएकी छिन् ।

प्रतिष्ठानले हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको सम्मानका लागि जनगायक रामेशलाई छनौट गरेको हो ।

त्यसैगरी प्रतिष्ठानले नेपाली साहित्यका विशिष्ट साधक एवम् रङ्गमञ्चसँग आबद्ध सशक्त अभियन्ता अशेष मल्ललाई एक लाख राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७७’ प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै पचहत्तर हजार राशिको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७७’ ठाकुर बेलबासेलाई प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै ५० हजार रुपैयाँ रहेको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार–२०७५’ पत्रकार एवम् स्रष्टा लक्ष्मी उप्रेती र ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला युवा पुरस्कार–२०७७’ चित्रकार विधाता के.सी.लाई प्रदान गरिने भएको छ । ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार–२०७७’ गायिका मिलन नेवारलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै २५ हजार र २० हजार राशिको योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कलासंस्कृति पुरस्कार क्रमशः डा. मधुसूदन गिरी र मनोहर लामिछानेलाई प्रदान गरिने निर्णय गरिएको छ । सबै सम्मान तथा पुरस्कार यही फागुन महिनामा सम्पन्न हुने विशेष समारोहका बीच प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको