कैलास मानसरोवरको प्राकृतिक अवलोकन थुम्को ‘लाप्चा’
समर हुम्ली
२० माघ, हुम्ला । हुम्लाको ‘लाप्चा’ एक प्राकृतिक अवलोकन थुम्को हो । यसको काखबाट क्षितिजलाई स्पर्श गर्न सकिन्छ । यो कैलास मानसरोवर दर्शन गर्ने एक अति छोटो रमणीय स्थान पनि हो । यहाँको भूगोल पाँच हजार मिटरमाथि रहेको छ । यो एक हिमाली उच्चसमस्थली पनि हो ।
हुम्ला सांस्कृतिक रूपमा मात्र होइन प्राकृतिक रूपमा पनि विविधतायुक्त भूगोलले सुसम्पन्न छ । यहाँका हिमाल, पहाड तथा उच्चसमस्थली पनि अनेकौ विविधताले सजिएका छन् । यसैको एक उदाहरण नेपालको उत्तरी सीमा नाकाको एक अतिउच्च रमणीय स्थान लाप्चा हो । यसलाई हाम्रा पुर्खाहरूले प्राकृतिक अवलोकन थुम्कोका रूपमा हजारौं वर्षदेखि प्रयोग गर्दै आएका छन् ।
कालान्तरमा चीनले संसारभरी रेशमको ब्यापार गर्न गराउनका लागि प्रयोग गरेको ‘रेशमी राजमार्ग’को पनि यो एक आधारखण्ड मानिएको छ । योसँग खश साम्राज्यले चर्चेको सवा लाख पर्वतमालाहरूमा राज्य सञ्चालन गर्दाको इतिहास छ । यसैले पनि लाप्चा क्षेत्रलाई खश शासकहरूले प्रयोग गर्ने गरेको उत्तर–दक्षिण राजमार्गको एक मुख्य खण्ड मानिएको नेपालको उत्तरी सीमा प्रशासनका अध्येता डा. तुलसीनारायण श्रेष्ठले बताएका छन् ।
मानसरोवर कैलास क्षेत्र ‘हिन्दु, बौद्ध, जैन र बोन’ धर्मको एक अति महत्वपूर्ण स्थान मानिदै आएको छ । यी सबैले आ–आफ्नो क्रियाकर्म, चालचलन र परम्परा अनुसार विभिन्न प्रकारका पूजाआजा गर्ने गराउने चलन रहेको छ । यसको दर्शन गर्न वर्षेनी हजारौं भक्तजनहरू आउने गरेका छन् । यी चार धर्मका अनुयायीहरूले पनि कैलास मानसरोवर क्षेत्रलाई पबित्रस्थल मात्रै नमानेर सृष्टि संरचनाको आधार पनि मान्दै आएका छन् । यसैले पनि यो क्षेत्रको चार दिशालाई विभिन्न उपमा उपमेय अलंकार र अनुप्रासले सजीसजाउ गर्ने गरिएको छ ।
विशेषतः कैलास मानसरोवर क्षेत्र उच्च हिमाली पठारको बीचमा रहेको हिन्दकुश पर्वतमालाको एक आधार खण्ड हो । यहाँ रहेको मानसरोवर ताललाई विशेषतः दक्षिण एशियाको जलसम्पदाको मुहान र स्रोत मानिएकोले यहाँबाट उद्गम भएका ‘गंगा, ब्रह्मापुत्र, सतलज र सिन्धु’ले विशालकाय भूगोललाई चर्चेको छ । यो जलप्रवाहले ओगटेको भूगोलमा हजारौं मानव सभ्यताका संस्कार र लोकलहरीको विकास र विस्तार भएको छ ।
विशेषतः कैलास मानसरोवर क्षेत्र उच्च हिमाली पठारको बीचमा रहेको हिन्दकुश पर्वतमालाको एक आधार खण्ड हो । यहाँ रहेको मानसरोवर ताललाई विशेषतः दक्षिण एशियाको जलसम्पदाको मुहान र स्रोत मानिएकोले यहाँबाट उद्गम भएका ‘गंगा, ब्रह्मापुत्र, सतलज र सिन्धु’ले विशालकाय भूगोललाई चर्चेको छ । यो जलप्रवाहले ओगटेको भूगोलमा हजारौं मानव सभ्यताका संस्कार र लोकलहरीको विकास र विस्तार भएको छ ।
हालसम्म जानकारी प्राप्त भए अनुसार कैलास मानसरोवर जाने विभिन्न बाटोहरूमध्ये हुम्लाको बाटो एक ऐतिहासिक र छोटो भएको प्रमाणित भएको छ । यसैको सेरोफेरोको एक अति महत्वपूर्ण स्थान लिमी क्षेत्र हो । यहाँबाट प्राकृतिक रूपमा आँखाले, मनमष्तिकले र शारीरिक अवयवले धित मरूञ्जेल कैलास मानसरोवरलाई आकाशको क्षितिजभन्दा तलबाट दर्शन गर्न सकिन्छ । यो स्थान हो हुम्ला लिमीको लाप्चा क्षेत्र । तत्कालिन जिल्ला खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय हुम्लाका कार्यालय प्रमुख ज्वालाराज शाहीका अनुुसार यहाँ लाप्चा पनि दायाँ र बायाँ भएकाले पनि तपाईहरू जति–जति हिमालको टाकुरामा जान सक्नुहुन्छ त्यति नै कैलास मानसरोवर तपाईसँग मीतेरी गाँस्न आइपुग्छ ।
यहाँ पुग्नका लागि काठमाडौं, नेपालगञ्ज र सुर्खेतबाट सिमकोटसम्म सबभन्दा भरपर्दो माध्यम हवाई सेवा हो । त्यसपछि हिंडेर वा गुडेर सिमकोट, लाग्ना, डाँडाफया, हेप्काखोला, लेखघिंगा, लांदुकलाग्ना, कुकी, नाफलथाङ, छुँउसा, सेलीमा, न्यालु, तलुङ, टाक्ची, पुल्की, ग्याउँखोला, शाक्याखोला, पेमाकार्बु, च्याक्पालुङ हुँदै लाप्चाको विभिन्न क्षेत्रमा पुगेर मन अघाउञ्जेलसम्म विचरण गर्ग सकिन्छ ।
यसपछि नेपालको १२ सय वर्ष पुरानो हल्जी गुम्बाको दर्शन र लिमीका तीन गाउँको जानकारी लिनेदिने कामको शुरुवात हुन्छ । यी तीन गाउँहरू हिमालको काखमा अनेकतामा एकताको सन्देश दिने र एकतामा अनेकताको विविधता जनाउने उच्चपठार क्षेत्रका गाउँ हुन् ।
यो क्षेत्र प्राकृतिक चिडियाखाना र सांस्कृतिक संग्राहलय पनि भएकाले यहाँहरूले दिनुभन्दा पनि छोटो बसाईमा कति लिनुहुन्छ । त्यो तपाईमा नै भर पर्छ । यहाँ पुग्दा लाग्छ कुनै स्वर्गको आँगनमा पुगेर परमात्मासँग साक्षात्कार भएको हो कि ? शान्तसुन्दर कुनै नभमा पुगेको हो आफैलाई प्रश्न गर्न मन लाग्छ ।
यताउता काखैमा नावरको बथान छ, वरपर वन चौंरीको गस्ती छ, हुलका हुल वनगदाका बगालहरू हिंडिरहेका छन्, काखैमा हिँमचितुवा, हिमाली कुकुर र ब्वाँसाहरूले जिभ्रो निकालेर र्याल चुहाउँछन्, मगमग सुगन्धीत वनस्पतिहरूको बास्ना आइरहेको हुन्छ, कलकल र सलसल पानीमा विभिन्न प्रकारका पंछीहरू तरंङ्गीत हुन्छन् ।
यताउता काखैमा नावरको बथान छ, वरपर वन चौंरीको गस्ती छ, हुलका हुल वनगदाका बगालहरू हिंडिरहेका छन्, काखैमा हिँमचितुवा, हिमाली कुकुर र ब्वाँसाहरूले जिभ्रो निकालेर र्याल चुहाउँछन्, मगमग सुगन्धीत वनस्पतिहरूको बास्ना आइरहेको हुन्छ, कलकल र सलसल पानीमा विभिन्न प्रकारका पंछीहरू तरंङ्गीत हुन्छन् । लिमी उपत्यकामा ‘जंगली याक’को खोजी गर्दा फ्याउमुसाहरूले सिट्टी लगाएर पलपल सचेत गराएको अनुभव पनि आफुले प्राप्त गरेको नेपालका वरिष्ठ प्राणीविद् प्राध्यापक करनबहादुर शाह जानकारी दिए ।
स्थानीय कथन अनुसार महाभारतको लडाईँपछि पाँच पाण्डवहरू पनि यही बाटो भएर स्वर्ग गएका थिए । त्यसैले पनि यहाँ जो कोहीले जीवनमा एक पटक पुगेमा ऊ पनि भौतिक रूपमा नभए पनि मानसिक रूपमा स्वर्ग जाने जनविश्वास रहेको छ । यसका साथै हुम्लालाई देवपुरी हुम्लो भन्ने कथन पनि यहाँको भूगोल वरपर छरिएका रहेका स्थानीय जनकथन र देवताहरूको पडेलीले पनि जानकारी दिने गरेका छन् ।
कैलास मानसरोवरको दर्शनका लागि आफै स्वनिर्मित भूगोलको एक अति रमणीय प्राकृतिक अवलोकन थुम्कोमा पुगेर आध्यात्मिक तथा भौतिक संसारलाई नियाल्ने प्रयास गरौं । ग्रामीण पर्यटनका लागि केही मात्रामा भए पनि सहभागिता जनाऔँ । नेपाल र नेपालीलाई चिनौँ, नेपालीहरूसँग हातेमालो गरौँ, हो तपाईं हामीहरू पनि कोरोनाको महामारीले थला पारेको अर्थतन्त्रको एक प्रमुख माध्यम र स्रोत पर्यटन व्यवसायलाई उकास्नका लागि एक पटक अनिवार्य रुपमा ‘लाप्चा’ पुगौँ ।