जज राउण्डमै फालिएकी एलिना गुरूङ यसरी बनिन् पहिलो ‘नेपाल स्टार’
१९ माघ, काठमाडौं । पोखरा अडिशनमा जज राउण्डबाटै फालिएकी एलिना गुरूङले अन्तत सांगीतिक रियालिटी शो ‘नेपाल स्टार’ को पहिलो उपाधी चुमेकी छिन् । आवाज मन पराउने साथि-भाइको सुझावमा फेरी चितवनबाट अडिशन दिएर छानिएकी एलिना पहिलो ‘नेपाल स्टार’ बन्न सफल भएकी हुन् ।
भनिन्छ लेखान्तमा लेखिएको कुरा कसैले चाहेर पनि खोस्न सक्दैन । कास्कीकी एलिना गुरूङको सवालमा यो भनाई यथार्थ नै सावित भएको छ । पोखराका विभिन्न रेष्टुरेन्टमा ब्याण्डमा गीत गाउने एलिनाले एकैचोटी नाम, दाम, इज्जत, प्रतिष्ठा सबै कमाएकी छिन् ।
नेपाल टेलिभजनबाट प्रत्यक्ष प्रशारण भएको यो शो नेपाल सरकारका संचार, सुचना तथा प्रविधिमन्त्री पार्वत गुरुङको उपस्थितिमा नेपाल टेलिभिजनको ३०० स्टुडियोमा भव्य समारोहका बीच आइतबार सम्पन्न भयो ।
प्रतिस्पर्धाका अन्तिम चारमा छानिएका प्रत्येकले जनही पाँच–पाँच लाखका दरले नगद प्राप्त गरका थिए । वाईवाई नेपाल स्टार बन्न सफल एलिना गुरुङले थप ३० लाखसहित ३५ लाख नगद जितेकी छिन् ।
वाईवाईको मुख्य प्रायोजन रहेको गायन प्रतिस्पर्धा ‘नेपाल स्टार’ मा देशका ७ वटै प्रदेशबाट कलाकारहरू छनौट गरिएको थियो ।
यसअघि नेपाल आइडल, नेपाल लोक स्टारमा ट्यालेन्ट हेडको भूमिकामा काम गरिसकेका गायक तथा संगितकार इन्द्र आर.पीले नेपाल स्टारमा ट्यालेन्ट हेडको भूमिका निर्वाह गरेका थिए । गायिका अञ्जु पन्त, संगीतकार आलेक श्री र गायक रामकृष्ण ढकाल प्रतिस्पर्धामा निर्णायकको भूमिकामा थिए ।