१६ श्रावण २०७८, शनिबार

‘आमाको शव’ १० वर्ष वर्षसम्म फ्रिजमा लुकाउने जापानी महिला पक्राउ



१९ माघ, काठमाडौं । आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टमा फ्रिजभित्र लुकाएको आरोपमा प्रहरीले एक जापानी महिलालाई पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमका अुनसार आफ्नी आमाको मृत्यु भएपछि आफूले घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएकी छन् ।

प्रहरीले एएफपीसँग भन्यो, ‘४८ वर्षीया युमि योशिनोलाई आफ्नी आमाको मृत शरीरलाई अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको र पछिल्लो केही समय त्यहाँबाट भागेको आरोपमा पक्राउ गरिएको छ ।’

महिलाले बताए अनुसार त्यो मृत शरीर एक दशक पहिलेदेखि टोकियोको एक अपार्टमेन्टमा फ्रिजभित्र राखिएको थियो । योशिनोलाई शुक्रबार टोकियो नजिकैको चिबा शहरको एउटा होटलमा पक्राउ गरिएको बताइएको छ ।

प्रहरी स्रोतलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमहरूले लेखेका छन्, ‘योशिमोले आफ्नो वयानमा फ्रिजमा महिलालाई राखेको र उनी आफ्नै आमा भएको बताएकी छिन् ।’

उनले भनिन्, ‘आफ्नी आमालाई १० वर्ष पहिले मरेको भेटेपछि उनले लासलाई फ्रिजभित्र लुकाइन् । किनकि उनी यो घटना बाहिर ल्याएर आफू बसिरहेको घर छोड्न चाहँदैनथिन् ।’

मृत्यु हुँदा ती महिला (आमा)को उमेर ६० वर्ष रहेको हुनसक्ने र महानगरीय ‘हाउजिङ् कम्प्लेक्स’मा उनकै नाममा कोठाहरू भाडामा लिएको पाइएको क्योदो न्यूज एजेन्सीले समाचारमा लेखेको छ ।

शव फ्रिजरमा फिट गर्न झुकाइएको अवस्थामा राखिएको अवस्थामा एक कोठामा भेटिएको प्रहरीलाई उद्धृत गरी जीजी प्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

समाचारहरूमा जनाइएअनुसार योशिनोलाई भाडा भुक्तानी नगरेपछि जनवरीको मध्यतिर अपार्टमेन्ट छोड्न भनिएको थियो । त्यसपछि कोठाको सरसफाई गर्ने एक व्यक्तिले ती महिलाको कोठामा फ्रिजभित्र लुकाइएको शव फेला पारेका थिए ।

शवको परीक्षण (अटोप्सी) बाट महिलाको मृत्युको कारण र मृत्यु भएको समय पत्ता नलागेको तर ती महिलाको शरीरमा देखिने खालको चोटहरू नभेटिएको उल्लेख गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

(स्रोतः एजेन्सिको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु