सुनको सिक्का भरिएको हजार वर्ष पुरानो घैंटो भेटियो
९ भाद्र, काठमाडौं । तपाईं हामी बाटोमा हिँड्दै गर्दा पैसा भेटिँदा त त्यति खुसी हुन्छौं । कल्पना गर्नुहोस् त, झन जमिनमा सुनको सिक्का भरिएको घैंटो भेट्टाउँदा कति खुशी हुनुहुन्छ होला ? अझ पुराना ऐतिहासिक सुनका सिक्का भेट्टाउँदा खुसीको आयतन कति फराकिलो हुन्छ होला ?
इजराइली युवा पुरातत्वविद्हरूले गत साता हजार वर्ष पुरानो सुनको सिक्का भरिएको घैंटो भेट्टाएका छन् । मध्य इजराइलको नयाँ घरहरू बन्ने क्षेत्रमा टिनएजर युवाहरूले गरेको यो उत्खनन्ले हजार वर्ष पुरानो इतिहास, सभ्यता, अर्थतन्त्रको पाटाहरूलाई उजागर गरेको छ ।
उत्खनन् निर्देशक लियट नादाजिभका अनुसार कुनै सम्पत्तिवालले ११ सय वर्ष अघि यो सम्पत्ति माटोको घैंटामा राखेर गाडेको देखिन्छ । सिक्रीले कसेको अवस्थामा भेटिएको घैटो भएकाले ऊ फर्किएर पुनः लिएर जाने उद्देश्य राखेको देखिन्छ । तर ती सुनका सिक्री राख्ने मानिस को थिए होलान् भन्ने विषय भने अझै अज्ञात छ ।
उत्खननकर्ताले भने अनुसार खन्दै जाँदा स–साना माटाका पात जस्ता चिजहरू भेट्टिए । पछि सफा गरेर हेर्दा त सुनको सिक्का पो रहेछन् । यस्तो प्राचिन र अमूल्य पुरातात्विक महत्वकोे चिज भेट्टाउँदा उनको खुसीको सिमा नै रहेन ।
यो सिक्काको घैंटो आवासिद कालिफेट समयको मानिन्छ । सिक्का विज्ञ रोबर्ट कुलका अनुसार ४२४ वटा २४ क्यारेटका सुनका सिक्काहरू त्यो बेलाको समयमा सायदै निकै ठुलो सम्पत्ति थियो होला । उनले अनुमान गरे अनुसार त्यति सिक्काले त्यो बेला सम्पन्न इजिप्टको राजधानीमा आलिसान दरवार किन्न सकिन्थ्यो होला ।
(स्रोतः एजेन्सीको सहयोगमा)