मदन भण्डारीको देवतासम्बन्धी विचार र ओलीको पशुपतिनाथ विशेष पूजा बारे कटाक्ष
१८ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पशुपतिनाथ दर्शन तथा राम मन्दिर निर्माण गर्ने लगायतका विषयसँग जोडेर जननेता मदन भण्डारीले २०४८ सालमा देवतासम्बन्धी दिएको अभिव्यक्तिका विषयमा सामाजिक सञ्जालमा कटाक्ष गरिएको छ ।
प्रधानमन्त्री ओलीले माघ १२ गते बिहान ८ः३० बजे पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माण कार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गरेका थिए । प्रधानमन्त्री ओलीले सुनको जलारी निर्माण गर्ने मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिवद्धताको घोषणा गरे। पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माण गरिने भएको छ।
देवतासम्बन्धी जननेता मदन भण्डारीले २०४८ सालमा भनेका थिए, ‘हाम्रा देवता भनेका नबोल्ने ढुङ्गाका देवता होइनन्, जीवित र बोल्ने जनता हो । निमुखा, भोका, गरिब, असाह्य र न्याय नपाएका जनताको सेवा र पूजा कम्युनिस्टको मूल कर्तव्य हो । गरिब जनताबाट लिइएको करबाट मन्दिरका गजुुर थप्ने र यज्ञ लगाउने राजामहाराजाहरू हाम्रा प्रमुख शत्रु हुन् । भौतिकवादी पनि भएका नाताले हाम्रो लडाईँ तिनै धर्मभिरू र शोषकहरू विरुद्ध हो ।’
तिम्रा लागि जनताको बहुदलिय जनवाद र जननेता मदन भण्डारी सत्तामा पुग्ने भर्याङ मात्र हुन कि ? कि मदन भण्डारी र केपी शर्मा ओली भन्ने जनताको बहुदलिय जनवाद नै फरक हो ? भनी धेरै जनाले खरो टिप्पणी गरेका छन् ।