‘श्री ५ को सरकार’ भनेपछि विवादको तारो बनेका मन्त्री थापाले मागे माफी
१८ माघ, काठमाडौं । भाषणको क्रममा श्री ५ को सरकार भनेर सम्बोधन गर्ने खानेपानी मन्त्री मणि थापा माफी माग्न बाध्य भएका छन् ।
शनिबार नेकपा ओली समूहले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा श्री ५ को सरकार भनेका मन्त्री थापाले माफी मागेका हुन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भुलवस ती शब्द प्रयोग भएको र आफु सधै अग्रगमनको पक्षमा रहेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्वुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलवस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।
शनिबार सुर्खेतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भनेका थिए, ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट…ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम भन्न चाहन्छु ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनलाई असंवैधानिक प्रतिगामी कदम भएको भन्दै राजनीतिक दलहरू, नागरिक समाजका अगुवाहरू निरन्तर आन्दोलनमा छन् । यही बेला उनको क्याबिनेटका मन्त्री थापाले श्री ५ को सरकार भनिदिएपछि सामाजिक सञ्जालमा ब्यापक विरोध भइरहेको छ ।