ओलीले यसरी दिए आकर्षक तल्लो अरुण आयोजना भारतीय कम्पनीलाई
१७ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको लगानी बोर्डको बैठकबाट आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा शुक्रबार बसेको बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडल अन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्न सतलजलाई छनौंट गरेको बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले बताए ।
अरुण तेस्रो आयोजना बनाइरहेको भारतले तल्लो अरुण पनि आफूले पाउनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयदेखि लगानी बोर्डसम्म परियोजना हात पार्न लागिपरेको थियो । भारतले नेपालसँग भएका ऊर्जासम्बद्ध पछिल्ला बैठकमा तल्लो अरुणको विषय उठाइरहेको थियो ।
हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कुल ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको ५० प्रतिशत काम नसिकँदै अर्को आयोजना पनि सोही कम्पनीले पाएको हो ।
सतलज विद्युत निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि ‘एसजेभीएन नेपाल’ नामक कम्पनी दर्ता गरेर काम गर्दैछ ।