२० फाल्गुन २०७७, बिहीबार

हिमाली अर्थतन्त्रको मुख्य स्रोत फुरु व्यवसाय



समर हुम्ली

११ पुस, हुम्ला । हुम्लाको उत्तरी हिमाली गाउँका युवाहरूको मुख्य आम्दानीको स्रोत फुरु व्यवसायलाई बन्दै गएको छ । यो व्यवसायमा पछिल्लो समय युवाहरूको आकर्षण बढेको छ ।

‘फुरु’ एक प्रकारको काठको बहुमुल्य भाँडो हो । यो विशेषः प्रकारको तिल्याइलो काठको गाँठा र गिर्खाबाट बनाइन्छ । यी गाँठाहरूमा प्राकृतिक रूपमा नै विशेष कलायुक्त रेशा र आकारका हुने गर्दछन् । यसलाई राम्रोसँग आकार दिएपछि विभिन्न प्रकारका जडिबुटीबाट बनाइएका सुगन्धित तथा स्थायी रूपमा बस्ने रङहरु लगाएर बनाइन्छ । यसलाई लामो प्रक्रियाबाट प्रशोधन गरिन्छ । यसको आकार, बुट्टा र तौल अनुसार सयौंदेखि लाखौंसम्म मोल पर्ने गरेको जानकारी नाम्खा गाउँपालिका वडा नम्बर २ खगालगाउँका ब्यापारी टेकबहादुर लामाले जानकारी दिए ।

हिमाली भेगमा बसोबास गर्ने मंगोलियन समुदायका बासिन्दाहरूका लागि अति महत्व र बहुमुल्य फुरु काठको भाँडो मात्र नभएर जीवन जगतसँग जोडिएको एक सांस्कृतिक निधि तथा प्राकृतिक विधिसँग जोडिएको एक अनिवार्य सम्पदा पनि हो ।

हुम्ली उखान झैँ ‘कि दुई, कि फुई, कि रुई’को मान्यतालाई फुरु व्यवसायले थप बल पुगाएको छ । हिमाली जनजीवनको असी प्रतिशत समय शुन्य डिग्री तापक्रम हुने भएकाले पनि तातो वस्तुलाई तातो नै राख्नका लागि फुरु एक प्राकृतिक तथा सांस्कृतिक थर्मस पनि मान्ने गरिएको छ । यसलाई ताप अवरोधक पनि मानिएको छ । यसैले पनि यहाँको आचारविचार, चालचलन र लवाईखवाईमा फुरुको उच्च स्थान रहेको छ ।

खानपानको परिकार अनुसार पनि फुरुको आकारप्रकार फरक हुने गरेको छ । यसको प्रयोग चिया, फुक्पा, छ्याङ्ग, फाँडो, खोले र खिचडी जस्ता अनेकौं परिकार खानका लागि प्रयोग गरिन्छ । विशेषतः हिमाली क्षेत्रमा खानपानमा झोलिलो खानाको अत्याधिक प्रयोगमा फुरुको प्रयोग एक अनिवार्य शर्त पनि हो । यसैले पनि फुरुको प्रयोग अनिवार्य भएको नाम्खा गाउँपालिका वडा नम्बर १ का बहादुर लामाले बताए ।

फुरुको प्रयोग हुम्लाको हिमाली गाउँका साथै अति चिसो हुने पश्चित तिब्बतमा पनि अत्यधिक माग रहेको छ । यसैले पनि हुम्लाका फुरु व्यावसायिहरूले देश विदेशबाट यसको ब्यापारका लागि वर्षेनी करोडौं रकमको ब्यापार गर्ने गरेका छन् । यो व्यवसायमा नाम्खा गाउँपालिका ८० प्रतिशत युवाहरू लागेका छन् । यसैले पनि यिनीहरूको आम्दानीले गर्दा गाउँदेखि शहरसम्म राम्रो लगानी गर्न सफल भएको नाम्खा गाउँपालिका वडा नम्ब ५ का जेष्ठ नागरिक छार्केप लामाले जानकारी दिए ।

फुुरुको प्रयोग हुम्लाका हिमाली गाउँहरु बुराउँसे, तोर्पा, लिमाटांग, दोजाम, बरगाउँ, हेक्पा, धिगा, गाडपारी, खालोई, खगालगाउँ, केर्मी, सतुंग, याल्वांग, यांगार, चाला, मुचु, तुमकोट, यारी र जांग, हल्जी र तील गाउँहरूमा ऐतिहासिक तथा सांस्कृतिक निधिका रुपमा संकलन र प्रयोग गरिन्छ । यसको बुट्टा अनुसार पञ्च धातु र नवरत्न पनि जडान गर्ने गरिन्छ । यो प्राकृति मैत्री पनि भएकाले यसलाई काष्ठ उपचार पद्धतिको एक उत्कृष्ट नमुनामा पनि मानिएको छ ।

चीनको स्वशासित क्षेत्र पश्तिम तिब्बतमा यसको अत्याधिक माग रहेको छ । पछिल्लो समय माग र आपूर्तिमा समायोजन नहुँदा देश विदेशबाट सङ्कलन, आपूर्ति र बेचबिखनमा अनेकौं प्रकारका नीतिगत, विधिगत र व्यावहारिक अड्चनहरू आउने गरेको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका खेन्डाव लामाको अनुभव छ ।

यसको माग राम्रो भईकन पनि नीति, विधि, प्राविधिक, र व्यावहारिक कारणले यो पेशाको भविष्य सोचनिय छ । प्राकृतिक साधन स्रोतमा अत्यधिक दोहन कतिसम्म धान्न सक्ने हो । यसलाई नीतिगत रूपमा समावेश गर्नु अति आवश्यक मानिएको छ । हिमाली भेगमा फस्टाएको यो पेशालाई हालसम्म पनि अतिरिक्त पेशा मानिएकाले यसलाई स्थानीयदेखि संघीय रूपमा सम्वोधन गर्न सकेमा अर्थतन्त्रको बलियो आधार बन्न सक्ने छ । यसबाट राष्ट्यि अर्थतन्त्रमा पनि टेवा पुग्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु