१३ फाल्गुन २०७७, बिहीबार

धनशराहरू



मध्यरातमाः निकै सर्तकताका साथ
अलग्गाई रहेकी छे धनशरा क्षेत्री
बाँकी जीवनलाई जैसे दलितको अँगालोबाट ।

निकाली रहेकी छे आफुलाई मनबाट,
त्यही मनबाट, जुन मनका लागि
उसले जलाएकी थिइ सपना र घर !
लताएकी थिइ जात !
भत्काएकी थिइ रुढि !
र हिडेकी थिइ गोधुलीमा !

दुई वर्षकी छोरीलाई
च्याप्प च्याप्न मन गरिरहेको काखलाई
बलजप्ती धडाले कसेर

जस्तो दयनीय अवस्थामा पनि
आफु रोएर, हास्न दिएको
आफु नलाएर, लगाउन दिएको
आफु नखाएर, खान दिएको
जैसे दलितको हृदय र समर्पणलाई
चुम्न खोजीरहेका ओठलाई अत्यासले बन्द गरेर
उ निस्किन तम्तयार भएर उभिइ ।

निस्किनु भन्दा अगि
अझै अन्तिम पल्ट नियाली
पाँच वर्ष नगुजारेको विलासी
नखाएको दाल र तरकारी
नलाएको फेसन
र नगरेको मेक अप

र फुत्त निस्किइ
धड्कन बन्द गरेर मृत्यु निस्के जसरी

परपर पुग्दासम्म पनि
उसले फर्केर हेरिन वा
हेर्न सकिन
हिँडि हिँडिरही….

तर घुम्ति नकट्दै
उसले खै के सोची
फनक्कै फर्की
दुगुरी दुगुरी रही…

आँशु चुपचाप बगाएर
निकै सर्तकताका साथ
जैसे दलितलाई कस्सेर अङ्गालो हाली
र रातभर रोइरही ।

यसरी ऊ हरेक मध्यरातमा निस्किन्थी
अव कहिल्यै फर्किन्न सोचेर ।
र प्रत्येक चोटि घुम्तिबाटै फर्किन्थी
अव कहिल्यै निस्किन्न ठानेर ।

नेपाल भरी कति धनसराहरू
यसरी हरेक मध्यरातमाः
निस्किने फर्किने गरिरहन्छन् होला ?

(विज्ञान राज कर्णाली प्रदेशका उदयमान सर्जक हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु