२३ जेष्ठ २०८०, मंगलवार

रूपान्तरण नेपालद्वारा विपन्न महिलाहरूलाई महिनावारी सामग्री वितरण



११ माघ, काठमाडौं । ‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ मुल नारासहित रूपान्तरण नेपालले राधा पौडेल फाउण्डेशनसँगको सहकार्यमा दैलेखको नारायण नगरपालिकाका २५० जना विपन्न, असाहय, दलित, जनजाति किशोरी तथा महिलाहरूलाई महिनावारी सम्बन्धी सामग्रीहरू वितरण गरेको छ । कोभिड–१९ मा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार व्यवस्थापन अभियान परियोजना–२०७७ अन्तर्गत शनिबार नारायण नगरपालिकाकी उप–प्रमुख सावित्री मल्लले उक्त सामग्रीहरू वितरण गरेकी हुन् ।

उक्त कार्यक्रममा नारायण नगरपालिका वडा नम्बर १ को नमुना बस्ती र भगवती टोल, वडा नम्बर ९ को साँडु, वडा नम्बर ६ भूर्ति, वडा नम्बर ७ किमुगाउँ, वडा नम्बर २ जाहरकोटलगायत अन्य वडाका दलित, जनजाति, विपन्न किशोरी तथा महिलाहरूलाई महिनावारी सामग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै नारायण नगरपालिकाकी उप–प्रमुख सावित्री मल्लले कोरोनाको आतङ्कका बीचमा महिलाका क्षेत्रमा प्रभावकारी र परिणाममूखि ढङ्गले काम गरेकोमा रूपान्तरण नेपाल र राधा पौडेल फाउण्डेशनलाई धन्यवाद दिँदै आगामी दिनमा यस खालका काममा नगरपालिकाले समेत हातेमालो गर्ने बताइन् । सोहि कार्यक्रममा नारायण नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठले महिनावारीका समयमा प्रयोग गरिने कपडाका प्याड बनाउन कम खर्चिलो र वातावरण मैत्री पनि हुने भएकाले नगरपालिकाले यस खालका काममा सहकार्य गर्नुपर्ने बताए ।

महिनावारी सामग्रीमा मितेरी वायो डिग्रेडेवल प्याड, पुनःप्रयोग गर्न सकिने प्याड, टुथपेस्ट, टुथव्रस, अण्डरवेर, डिटोल सावुन, सेनिटाइजर, हाते पुस्तिका र तौलियासहितको झोला हस्तान्तरण गरिएको कार्यक्रम संयोजक सिता शाही सिंहले जानकारी दिइन् । उनका अनुसार यस किसिमको सहयोगले असाहय, विपन्न, दलित समुदायका किशोरी तथा महिलाहरूलाई मर्यादित महिनावारीका विषयमा सचेतना फैलाउन मद्दत पुगेको छ ।

सोही दिन बेलुका जिल्ला अस्पताल दैलेखमा कोविडको कहरका बीच पिपिई सेट लगाई फ्रन्ट लाइनमा रहेर काम गर्ने ४५ जना महिला डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूलाई महिनावारीका बेला लामो समयसम्म प्रयोग गर्न सकिने मिन्स्ट्रुअल कप समेत वितरण गरिएको छ ।

नारायण क्याम्पसका स्वतन्त्र विद्यार्थीका अध्यक्ष रेखा थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा नारायण नगरपालिकाका कार्यपालिका सदस्य रचना थापा, सेतो गुराँसका गिता रम्तेल, युवा समाजसेवी रोहित लामिछानेलगायतको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको