सिमकोट र नाम्खा गाउँपालिकाका २५७ जनाले लगाउने भए कोरोना खोप

समर हुम्ली
११ माघ, हुम्ला । सिमकोट र नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्य सेवा कार्यालयका कर्मचारी सहित २५७ जनाले कोभिड १९ भ्याक्सिन (कोभिशिल्ड) को खोप लगाउने भएका छन् ।
भारत सरकारले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको दश लाख डोज खोपको पहिलो चरणमा सिमकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगी गरी ६८ जना, सिमकोट गाउँपलिकाका महिला स्वास्थ्य स्वयमसेवीका ४६ जना र स्वास्थ्य सेवा कार्यालय हुम्लाका स्वास्थ्यकर्मी तथा कर्मचारी ५५ जना गरी १५७ जनालाई पहिलो खेपको कोभिड–१९ विरुद्धको खोप लगाइने सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दानबहादुर वोहराले जानकारी दिए ।
स्वास्थ्य तथा कार्यालयको कामको लागि अग्रपङ्गतीमा काम गर्ने भएकाले पनि पहिलो खेपमा कोरोनाको भ्याक्सिन कोभिशिल्ड खोप दिने तयारी भए अनुसार अभिलेख तयार गरी सम्बन्धीत माथिल्लो तहमा पठाइएको छ । यसैगरी नाम्खा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका तथा अन्य कर्मचारीहरू १ सय जनालाई पनि कोभिड १९ विरुद्धको खोप लगाउनका लागि नाम रजिष्टर गरिएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नयन भण्डारीले बताए ।
नाम्खा र सिमकोट गापाका २५७ जना स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयमसेवीकाले यो खोप लगाउन पाउने गरी नाम रजिष्टर गर्नुका साथै मन्जुरीनामा पत्रमा पनि हस्ताक्षर गरेका छन् ।
हुम्लामा खोप उपलब्ध हुनासाथ तत्काल लगाइने बताइएको छ । खोप लगाउने सबैले यो खोपबाट केही भएमा आफै जिम्मेवार हुनेछु भनेर मन्जुरीनामा समेत गर्नुपर्ने भए अनुसार सबैले मन्जुरीनामा समेत हस्ताक्षर गरेका छन् । यसका लागि शारीरिक र मानसिक रुपमा पनि तयार हुन लागि निर्देशन दिइएको छ ।