१५ मंसिर २०७८, बुधबार

बीचैमा निर्वाचनमा जाँदा भ्रष्टाचार र गरीबी बढ्छ : रामचन्द्र पौडेल



१० माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् । पार्टीभित्रको झगडाले प्रतिनिधि सभा विघटन गर्नु न्यायसम्मत नभएको विचार व्यक्त गर्दै पाँच वर्ष चल्नुपर्ने सरकारलाई बीच बाटैमा तुहाएर निर्वाचनमा जाने प्रक्रियाले मुलुकमा भ्रष्टाचार र गरीबी बढ्ने पौडेलको तर्क थियो ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले आज आयोजना गरेको स्रष्टालाई सम्मान एवं पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले न्यायालयले जनताका आवाज सुन्नुपर्ने धारणा राखे । उनले राजनीतिक दलका नेताहरू स्वार्थभन्दा माथि उठेर देश विकासमा लाग्नुपर्ने सुझाव दिएका छन् ।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधिसभा विघटनविरूद्ध संघर्ष गर्नुपर्ने विचार व्यक्त गरे । कांग्रेसका केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र डा. डिला सङ्ग्रौलाले राजनीति विधि र पद्धतिअनुसार चल्नुपर्ने धारणा राखे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले जनतालाई गरीबीतर्फ धकेल्ने वर्तमान राजनीतिक परिस्थितिले गर्दा राजनीतिक दल र जनता सडकमा आउनुपरेको विचार राखे ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७७’ कवि एवं गीतकार एसपी कोइराला र २०७६ कवि विष्णुविभु घिमिरेलाई प्रदान गरिएको छ ।

रु २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७७’ वरिष्ठ पत्रकार हरिहर विरही र गत वर्षका लागि वरिष्ठ पत्रकार मोहन भण्डारीलाई प्रदान गरिएको छ । प्राज्ञ सुवेदीका छोराद्वय शरदराज र रुपकराजले राखेको रू १५ लाख अक्षय कोषका ब्याजबाट प्रत्येक वर्ष ती पुरस्कार प्रदान गर्ने गरेको समालोचकका पुत्र एवं पत्रकार शरदराजले जानकारी दिएका छन् ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको