१९ जेष्ठ २०८०, शुक्रबार

उखु किसानले फेरि घोषणा गरे आन्दोलन, उद्योग मन्त्रालयको सूचनामा आशङ्का



१० माघ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्ना मागहरू सम्बोधन नगर्ने देखिएपछि उखु किसानले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

मन्त्रालयले ६५ करोड रुपैयाँमा ५७ करोड रुपैयाँ भुक्तानी भएको र अब ८ करोड रुपैयाँ मात्रै बक्यौता रहेको मौखिक सूचना जारी गरेपछि उखु किसानले आन्दोलन घोषणा गरेका हुन् ।

किसानहरूले मन्त्रालयले जारी गरेको सूचनामा असन्तुष्टि जनाउँदै मन्त्रालयको भनाई शङ्कास्पद लागको बताएका छन् ।

सरकारले फेरि धोका दिनलागेको भन्दै आन्दोलन घोषणा गरिएको उखु किसान संघर्ष समितिले जनाएको छ ।

गत मंगलबार उद्योग मन्त्रालयले ८ करोड रुपैयाँ मात्रै बक्यौता रहेको पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

मन्त्रालयले स्वनिर्णय नगरी उद्योगीहरुको भनाइअनुसार सूचना जारी गरेको सङ्घर्ष समितिले आरोप लगाएको छ । समितिले कति किसानले बक्यौता नपाएको र कुन–कुन किसानले के कारणले उपलब्ध गराउन नसकेको समेत जानकारी माग गरेको छ ।

समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै माघ १० देखि फागुन ७ गतेसम्म किसान जागरण अभियान चलाउने बताएको छ ।

त्यस्तै फागुन ८ गतेदेखि फागुन १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक खाएर खेतमा काम गर्ने र त्यसपछि तेस्रो चरणको अन्दोलन घोषणा गर्ने समितिले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको