१ आश्विन २०८०, सोमबार

जनताको सरकारले ओली र उनका मान्छेलाई कारबाही गर्छ : प्रचण्ड



९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रतिगमनलाई परास्त गर्दै छिट्टै जनताको सरकार आउने बताएका छन् ।

शुक्रबार राजधानिमा आयोजित भव्य जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्मचारी लगायतलाई आफूहरूको आन्दोलनमा नजान भन्दै सरकार र सरकारका मानिसहरूले धम्की दिने गरेको पाइएकोले त्यसो भएमा जनताको सरकारले कारबाही गर्ने बताएका छन् ।

‘प्रचण्ड–माधव समूहको आन्दोलनमा सहभागी हुने कर्मचारी र पेशाकर्मीहरूको केपी ओलीका साइबर स्यालहरूले रेकर्ड राखेर कारबाही गर्ने रे’, प्रचण्डले भने, ‘म यो मञ्चबाट केपी र उनका गुटलाई चुनौती दिन चाहन्छु, एउटालाई छोएर देखाऊ ।’

आन्दोलनमा सहभागीको छिसिक्क एउटा रौं हल्लियो भने पनि त्यसको संरक्षण आफुहरूले गर्ने प्रचण्डले बताए । उनले भने, ‘छिट्टै जनताको सरकार आउनेवाला छ । त्यसले केपी ओली र उनका गुटलाई कारबाही गर्नेछ ।’

उनले आफूहरूले ओलीलाई तह लगाउन नसकेर जनतामा आएको पनि बताएका छन् ।

प्रचण्डले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । उनले देशलाई बर्बाद हुने बाटोमा कसैले पनि भूमिका नखेल्न र कोही पनि अराजकताको साक्षी नबन्न आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको