१४ फाल्गुन २०७७, शुक्रबार

हुम्लामा विपदबाट ३ करोड बढिको क्षति, राहत ३ लाख मात्रै !



समर हुम्ली

८ माघ, हुम्ला । हुम्लामा आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न प्रकारका ३८ विपदका घटनाहरूबाट तीन करोड बढिको क्षति भएको छ । पीडितले भने हालसम्म राहतको नाममा करीब तीन लाख मात्र पाएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाको अभिलेख अनुसार गत आर्थिक वर्ष हुम्लामा अबिरल वर्षाबाट २८, बाढीपहिरोबाट ४ र आगलागीबाट ६ गरी ३८ विपदका घटनाहरू घटेका छन् । तर मानवीय क्षति भने भएको छैन । एक जना पुरुष मात्र सामान्य घाइते भएका छन् । यी घटनाहरूमा तीन चौपाया मरेका छन् । कुलो, खर्क, घट्ट, खानेपानी र सिंचाई जस्ता भौतिक पूर्वाधारहरूमा असर परेको छ । ३७ घर पूर्ण तथा आंशिक रूपमा क्षति भएका छन् ।

गत आर्थिक वर्ष अबिरल वर्षाका कारण ४७ लाख ७२ हजार २ सय, बाढीपहिरोबाट ४ लाख २८ हजार र आगलागीबाट २ करोड ५६ लाख ४१ हजार ६ सय रूपैयाँ बराबारको क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी उपरिक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् ।

विपद पिडिछलाई जिल्ला प्रशासन कार्यालय हुम्लाले गत आर्थिक वर्षमा २ लाख ८९ हजार ५०० मात्र राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार जिल्ला प्रशासन कार्यालय हुम्लामा विपद राहतका लागि निवेदन दिनेहरूले क्षति भएको एक प्रतिशतभन्दा पनि कम राहत पाएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु