१५ फाल्गुन २०७७, शनिबार

जङ्गल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक राधिका



८ माघ, काठमाडौं । शिक्षालयकी सैनिक जवान राधिका थापा नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम लिने पहिलो महिला सैनिक बनेकी छिन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको प्रतिविद्रोह तथा जंगल वारफेर कोर्समामा महिलातर्फबाट राधिकाले पहिलो पटक तालिम लिएकी हुन् ।

१५ असार २०६९ सालमा सैन्य दर्जामा भर्ना भएकी उनी सैन्य आधार तालिमपछि शिक्षालयमा कार्यरत थिइन् । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार उनी उच्च स्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने तालिममा सहभागी भएर सफलता हात पर्न सफल भएकी हुन् ।

उनले तालिम सफलतापूर्वक सम्पन्न गरेर साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तीन महिनासम्म चल्ने अत्यन्तै कठिन उक्त तालिममा जंगल नेभिगेसन, धराप निर्माण, जंगल सर्भाइभल टेक्निक, सर्पदंश व्यवस्थापन लगायतका सैनिक ज्ञान र सीपहरू सिकाइन्छ । उनले बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ एण्ड मेन्टिनेन्स तालिमसमेत लिइसकेकी छन् ।

पछिल्लो समय नेपाली सेनाको उच्च ओहदामा समेत महिला सैनिकहरू पुगिसकेको अवस्थामा नेपाली सेनामा महिला भर्ना हुने क्रम पनि बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु