१९ मंसिर २०७९, सोमबार

गहना



तिम्रा कानहरूले रुचिपूर्वक सुन्दछन्
मैले फुस्फुसाएको बडो तीब्र वेगमा
मैले विस्तारै बोलेका प्रेमपूर्ण शब्दहरू
प्रचण्ड गर्मीमा पनि शीतल महसुस हुने गरी
पस्तछन् तिम्रो श्रवणयन्त्रमा
तिनका लोतीमा
झुण्डिने इयररिङभन्दा बढी टल्किने
सुन्दर, सादा र सम्मोहक छन् ती
जसले विस्तारै मतिर फर्काइदिन्छन्
तिमीलाई
किन चाहियो स्वर्णकुण्डलहरू ?

तिम्रा नाडीहरु छन् अतीव सुन्दर
मलाई हरपल स्याहार गर्ने कर्मठ ती नाडीमा
चलिरहेको छ मेरो प्राण
मेरो मुटुको भित्तामा ठोकिएको कम्पन
धेरै महंगो छ र बुट्टेदार पनि
तिम्रा नङहरू टल्केका छन्
हीराजडित औंठीभन्दा धेरै
तिम्रा औंलाका जोर्नीहरु खुम्चँदा फैलँदा
मीठो राग झंकृत भइरहेको पाउँछु म
किन चाहियो सुनका पहेला बालाहरू ?

तिम्रा नाडीहरू छन् अतीव सुन्दर
यति प्रान्जल छ तिम्रो गला
र गलामुन्तिर उचालिदै गएको छाती
कि कुनै पनि हीराको हार
या सुनको चौडा चम्किलो रानीहार
फिका लाग्छन् मलाई
किन चाहियो रत्नहरूलाई मोडेका
अमूल्य धातुहरू ?
तिम्रो केशराशि लहराउँदा
लयमय बन्दछ मेरो दुनियाँ
किन चाहियो थरी थरीका क्लिपहरू ?

यी सारा बन्धनहरू तोड
नेलजस्ता पाउजु
हत्कडीजस्ता चुरा
फाँसीको डोरीजस्ता मोतीका माला
विषका थोपाजस्ता क्रिम पाउडर
म देख्न चाहन्छु तिमीलाई
त्यस्ती सुन्दरी
जो बाख्रा चहार्दै
हावाको वेगसँगै
लहराउँदै केशहरू
जंगलमा छरिरहेकी हुन्छे
आफ्नो सुगन्ध ।

गहनाले त तिमीलाई
कुरुप बनाइरहेको छ ।

(वरिष्ठ प्रगतिशील कवि श्यामल हाल राष्ट्रिय समाचार समितिको अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको