१६ श्रावण २०७८, शनिबार

हुम्लाका धन बोहरा, जसले उपहार पाएको खरायो बेचेरै ५ लाख कमाए



समर हुम्ली

४ माघ, हुम्ला । गरे नहुने के छ र ? यो भनाईसँग भावनात्मक सम्बन्ध गाँस्ने एक किसान हुन् धन बोहरा । उनी दैनिक जीवनसँग र घरायसी कामका लागि प्रयोग हुने धेरै सीपका लागि गाउँमा चिनिएका एक सीपालु व्यक्ति पनि हुन् । पछिल्लो समय गाउँको सिपालु व्यक्ति भन्दा पनि जिल्लाकै एक अगुवा खरायो पालक किसानको रूपमा उनको परिचय बनेको छ ।

उनले तीन वर्षको अवधिमा खरायो पालेरै पाँच लाखभन्दा धेरै आम्दानी गरिसकेका छन् । उनको सिको गरेर अन्य व्यक्तिहरूले पनि खरायो पाल्न थालेपछि हाल सिमकोट गाउँपालिका वडा नम्बर १ र २ मा करीब ६ सयभन्दा धेरै खरायो छन् ।

सिमकोट गाउँपालिका वडा नम्बर १ र २ ठेहे गाउँ हुम्ला जिल्लाकै एक ठूलो गाउँ हो । यहाँको जनसंख्या पनि अन्य गाउँभन्दा धेरै छ । यहाँ अधिकाङ्श क्षेत्रीहरू र केही मात्रामा दलितहरूको पनि बसोवास रहेको छ । यहाँबाट सदरमुकाम सिमकोट पुग्न दुई घण्टा लाग्छ । पछिल्लो समय यो गाउँको तरकारीले पनि सिमकोट बजारमा राम्रो स्थान पाएको छ । धेरै ठेहे गाउँका बासिन्दाहरूले तरकारीको आम्दानीबाट आफ्ना सन्तानलाई नेपालका विभिन्नि शहरहरूमा उच्च शिक्षाका अध्ययन गराइरहेका छन् ।

अरूभन्दा फरक सोचका धन वोहरा हाल ३६ वर्षका भए । उनको परिवार सानो छ । उनलाई गाउँकै एक हितैषी साथी जसलाई स्थानीय भाषामा सम्मान स्वरुप ‘ज्यु’ भनिन्छ, उनैले बोहरालाई एक जोडी खरायो उपहार स्वरुप दिएका हुन् । यसलाई उनले स्याहार सम्भार गरेर तीन वर्षमा पाँच लाखभन्दा धेरै नगद कमाएका छन् । उनले भने, ‘आफन्त, साथीभाइ र अन्यलाई विभिन्न उपहार तथा कोसेलीका रूपमा दिइएको खरायोको हिसाब गर्ने हो भने सात लाख पुग्छहोला ।’

‘यसले एक वेतमा तीन–चारदेखि आठ–नौ बच्चा दिने भएकाले त्यो बेला माउ खरायो बच्चाहरूको स्याहारका लागि अलि बढि ध्यान दिनुपर्छ ।’ बोहराले भने, ‘यो संवदेनशील अवस्थालाई राम्रोसँग स्याहार–सुसार गरेमा पाल्न राम्रो छ । तर पनि यसका लागि आफु बस्ने घरभन्दा अलि फरक स्थानमा सुरक्षित खोर बनाउनु उपयुक्त हुन्छ ।’

तीन वर्षको अवधिमा उनले गाउँघर, छिमेकी गाउँ तथा विभिन्न समुह, सहकारी तथा गैरसरकारी सस्थाहरूका लागि दर्जनौं खरायो बेचेका छन् भने तालिमका लागि प्रशिक्षक भएर पनि काम गरेका छन् । मासिक हजारौं रुपैँया खरायोबाट कमाउने धन बोहराले यो पेशाबाट राम्रो आम्दानी गर्न सफल भएको सिमकोट गाउँपालिका वडा नम्बर २ ठेहेका स्थानीय सूर्यमणि बोहराले बताए ।

कम लगनी, कम श्रम र घरमै बसीबसी खरायोबाट राम्रो आम्दानी गरेकाले उनको सिको गरेर गाउँलेहरूले पनि खरायो पाल्ने गरेका छन् । गाउँघरमा सस्तो र सजीलै किन्न पाइने भएकाले पनि दिनको तीन चारभन्दा धेरै खरायो बिक्री हुने गरेको छ । हाल ठेहे गाउँका करीब एक हजारभन्दा धेरै खरायो रहेका छन् ।

खरायो हेरेर सिंलग बेच्दा एक हजारदेखि दुई हजारसम्म र डबल बेच्दा दुई हजारदेखि चार हजारसम्ममा बिक्री हुने गरेको छ ।

पछिल्लो समय गाउँमा मासुको स्वाद पनि नयाँ, छिटो छरितो र सस्तोमा मासु पाइने भएकाले पनि खरायोपालनका स्रोत व्यक्ति बनेका छन् धन बोहरा । उनले हालसम्म खरायो बेचेरै पाँच लाखभन्दा धेरै आम्दानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु