४ आश्विन २०७८, सोमबार

हुम्लामा साढे ६ करोडको कागुनो उत्पादन, खाना र औषधिमा प्रयोग



समर हुम्ली

३ माघ, हुम्ला । हुम्ला कृषि जैविक विविधताको एक संग्राहलय पनि हो । यहाँ पाक्ने र फल्ने अन्नबालीमा कागुनो पनि एक प्रमुख र घुसुवा बाली हो । यसलाई हुम्लामा खापापानका लागि मात्रै नभएर औषधीका रूपमा पनि प्रयोग गर्ने गरिन्छ । यहाँ पाइने तीन प्रकारका कागुनोमध्ये कालो कागुनो उत्तम र दुर्लभ पनि छ ।

कृषि विकास कार्यालय हुम्लाले अद्यावधिक गरेको पछिल्लो आँकडा अनुसार जिल्लामा ७८ हेक्टर क्षेत्रफलमा कागुनो खेती गरिएको जानकारी प्रकाशमा आएको छ । यो क्षेत्रफलबाट हुम्लामा ८१ मेट्रिक टन कागुनो उत्पादन भएको छ ।

विशेषतः हुम्लामा पहेँलो, रातो र कालो कागुनो हुने गरेको छ । औषधी र खानपानका लागि हो भने कालो कागुनोको खेती गर्ने गरिन्छ । ठाउँ र अवस्था हेरेर चैत्रदेखि वैशाख महिनाभित्र कालो कागुनो छर्नपर्छ । यो विभिन्न प्रकारका रोगव्याधी र पोषणका लागि प्रयोग गरिन्छ । पहेँलो र रातो कागुनो वैशाखदेखि असारसम्म खेतबारीका घुसुवा बाली र जग्गा खाली नराख्नका लागि छर्ने गरिएको चंखेली गाउँपालिका वडा नम्बर २ का स्थानीय भीमबहादुर बुढाले बताए ।

हुम्लामा कालो कागुनोको भातलाई भर्खर सुत्केरी भएकी आमाहरूलाई खुवाउनुका साथै विभिन्न प्रकारका रोग र कुपोषणले थला परेका मानिस तथा दुधालु पशुवस्तुका लागि पनि औषधीका रूपमा प्रयोग गर्ने गरिएको छ । यो कुपोषण, आऊँ, हैजा, शीतज्वरो, पखाला, पेट दुखेको, औलो जस्ता विभिन्न प्रकारका रोगको उपचारका लागि एकल तथा अन्य जडिबुटी र गोरससँग मिसाएर खुवाउने गरिन्छ ।

हुम्लामा कागुनो प्रति केजी ७५ देखि सय रुपैँयासम्म पर्ने गरेको छ । सालाखाला प्रति केजी ८० रुपैँयाका दरले हिसाव गर्दा हुम्लामा प्रति क्वीन्टल ८ हजारका दरले अनुमानित साढे ६ करोड बराबरको कागुनो उत्पादन भएको कृषि विकास कार्यालय हुम्लाका सूचना अधिकारी धर्मेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

हुम्लामा उत्पादन हुने करोडौं मुल्यका जैविक अन्न एकातिर बजारको अभाव र अर्कोतिर अन्न धेरै बेचविखन गर्दा बीउ सरेर अर्को वर्ष उत्पादन कम हुने अन्धविश्वासका कारण घरेलु कामकाजमै खर्च हुने गरेको छ । यसबारे स्थानीय नागरिकलाई सचेतना जगाउन सकेमा हुम्लीहरूले रैथाने अन्नबालीबाट मनग्य आम्दानी गर्न सक्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको